सुर्खेत । २७ वर्षकै उमेरमा एक युवतीलाई पाँच वटा मुद्दा अदालतमा दायर गरिएको छ । वीरेन्द्रनगरमा बुटिक व्यवसाय गर्दै आएकी सुस्मिता परियारले विभिन्न व्यक्तिबाट सामान लिने तर रकम तिर्दा चेक छाडेर फरारहुँदै आएकी थिइन् । तिनै सुस्मितालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौंबाट पक्राउ गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थायी ठेगाना उल्लेख गरेको प्रहरीले सुस्मिताको नाममा जिल्ला अदालत सुर्खेतमा पाँच वटा मुद्दा दर्ता भएको तथ्य खुलेको छ । काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट पक्राउ परेकी सुस्मितालाई प्रहरीले यहीँ माघ १५ गते सुर्खेत ल्याएको थियो ।

सुस्मिताका नाममा विभिन्न समयमा चेक अनादर मुद्दामा एक वर्ष कैद तोकिएको रेकर्डमा उल्लेख छ । अदालतको लगत नम्बर ४२२४ मा एक वर्ष कैद तोकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगी बताउँछन् ।
‘पक्राउ गरेर सुर्खेत ल्याएपछि उनको रकर्डमा थप चार मुद्दा रहेको भेटियो,’ निरीक्षक डाँगी भन्छन्, ‘अदालतमा मुद्दा दर्ता भइसकेकाले हामीले उहाँलाई अदालतमा उपस्थित गराएका थियौं, अहिले उहाँ कारागार चलान भइसक्नु भएको छ ।’

सुस्मिताका नाममा २०८० सालमा विभिन्न समयमा चार वटा थप मुद्दा अदालतमा दर्ता भएका छन् । २०८० बैशाख ४ मा चार लाख, जेठ १४ मा पाँच लाख, असोज ९ गते दुई लाख र असोज २१ गते १८ लाख विगोसहितको मुद्दा अदालतमा दर्ता भएको देखिएको जिल्ला अदालत सुर्खेतका सुचना अधिकारी उज्वल रावल बताउँछन् ।
प्रहरी स्रोतकाअनुसार सुस्मिताले वीरेन्द्रनगरमा बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी थिइन् । उनले विभिन्न पसल र व्यक्तिहरुबाट समान लिने तर नगद दिँदा चेक दिने गरेको अनुसन्धानबाट खुलेको छ । सुर्खेतमा व्यवसाय धराप बनेपछि उनी काठमाडौं गएको खुलेको र लुकिछिपि बसेको अवस्थामा उनलाई अनामनगरबाट प्रहरीले पक्राउ गरेको हो ।


नेपाल कर्म । २० माघ २०८१, आईतवार १४:२५