दौडमा भाग लिएर ३५ हजार पुरस्कार जित्ने अवसर

सुर्खेत । नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको युनिटी रनमा यो वर्ष फागुन ३ गत गर्ने भएको छ । महा शिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे ब्यारेक सुर्खेतको आयोजनामा दौड प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।



विभिन्न पाँच विधाहरुमध्य २१, १० र पाँच किलोमिटर दौड प्रतियोगिता सञ्चालन सेनाले गर्नेछ । दौडतर्फ प्रथम हुनेले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुने १५ हजार पुरस्कार पाउने छन् ।

१० किलोमिटर दौडमा प्रथम, दोस्रो तथा तेस्रो हुनेले क्रमश २०, १० र पाँच हजार पुरस्कार पाउनेछन् । यस्तै, पाँच किलामिटर दौडमा प्रथम हुनेले १० हजार, पाँच हजार र तेस्रो हुनेले तीन हजार पुरस्कार पाउने छन् ।

तीन वटै विधाको प्रतियोगितामा महिला र पुरुष दुवै सहभागी हुन पाउने र दुवैले समान पुरस्कार दिइने उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे ब्यारेक सुर्खेतका सहायक पृतनापति दिनेश रजौरेले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन नेपाली सेनाका १० वटै जिल्लामा रहेका युनिटमा पुगेर निःशुल्क रुपमा फारम भर्न सकिनेछ । फारम भर्ने अन्तिम मिति यहीँ माघ ३० गतेसम्म रहेको छ ।

प्रतियोगिताका लागि कर्णालीका १० वटै जिल्लाका जुनसुकै सेनाका युनिटमा फर्म भर्ने व्यवस्था गरिएपनि प्रतियोगितामा सहभागी हुन भने वीरेन्द्रनगरस्थित विमानस्थलको पूर्वतर्फ रहेको श्री नं. २ राजदल गण, एयरपोर्टमा फागुन ३ गते उपस्थित हुनुपर्ने सहायक पृतनापति रजौरेले जानकारी दिए ।

२१ किलोमिटर दौडका लागि राजदल गणबाट शुरु हुनेछ । यसका लागि रुट पिपिरा, देउती बज्यै मन्दिर, भाइरल रोड, मंगलगढी, बाँगेशीमल, ढाडेखाली स्कुलहुँदै रातो पुल, कालुञ्चोक, नेवारे स्कुल भएर राजदल गण तय गरिएको छ ।

१० किलोमिटर दौडतर्फको रुट राज दल गणबाटै शुरु गरेर पिपिरा चौक, मंगलगढी, ढोडेखाली पुल, प्रदेश अस्पताल, रातो पुल, कालुञ्चोक, नेवारे स्कुल भएर राजदल गण राखिएको छ ।

पाँच किलोमिटर दौडको रुट भने राजदलबाट शुरु भएर पिपिरा चौक, मंगलगढी, गणेश चाक, आँखा अस्पताल, कालुञ्चोक, नेवारे स्कुल भएर राजदल गणमै पुगेर सकिनेछ ।

पाँच किलोमिटर अर्को दौडमा प्रमुख अथिति र अन्य आमन्त्रित सहभागी गराइने सेनाले जनाएको छ । २१ र १० किलाेमिटर दाैडमा प्रतियोगितामा जुनसुकै उमेर समूहहरु महिला र पुरूष र पाँच किलाेमिटर दाैडमा छात्रछात्रा सहभागी हुन पाउनेछन् ।

सेनाले २०७८ सालदेखि हरेक वर्ष सेना दिवसको अवसरमा युनिटी रन प्रतियोगिताको आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद क्षेत्रमा योगदान दिन क्षमतावान खेलाडीको पहिचान र विकासका लागि प्रतियोगिता गरिएको सेनाले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया