शिक्षा क्षेत्रका विद्यमान चुनौतीका विषयमा छलफल

सुर्खेत । शिक्षा क्षेत्रमा रहेका विद्यमान चुनौतीका विषयमा छलफल गरिएको छ । आइतबार वीरेन्द्रनगरमा शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानाेठीमी भक्तपुरको आयोजनामा पत्रकारहरुसँग समर्ग शिक्षा क्षेत्रमा रहेका चुनौती र समाधानका उपायका बारेमा छलफल गरिएको हो ।



कार्यक्रममा सहभागी पत्रकारहरूले कर्णाली प्रदेशका सामुदायिक विद्यालयको गुणस्तर, जनशक्ति, बजेटको प्रभावकारिता, शिक्षामा समान पहुँच लगातका विषयमा प्रश्न उठाएका थिए ।

संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रका २३ वटा अधिकार दिएको भएपनि शिक्षा क्षेत्रलाई उपेक्षा गरिदा सामुदायिक विद्यालयको गुणस्तर ओरालो लाग्दै गएको सहभागी पत्रकारहरुले धारणा राखेका थिए ।

स्थानीय सरकार जिम्मेवार नबन्नु तथा संघ र प्रदेश सरकारको नीतिगत सहकार्य प्रभावकारी नहुँदा शिक्षा क्षेत्र अस्तव्यस्त बनेकाप्रति सचेत रहनुपर्ने पत्रकारहरुको जोड थियो ।

शिक्षा क्षेत्रमा भइरहेको भौतिक संरचनाको सुधार, विद्यालयमा वितरण गरीने दिवा खाजा, सेनेटरी प्याड, विद्यालय कर्मचारी व्यवस्थापन अनुदान प्रणाली सुधार गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक हरिप्रसाद अर्यालले संघीय सरकारले विभिन्न शिर्षकमा स्थानीय तहमा बजेट पठाउने गरेको भए पनि जनशक्ति र कानूनी प्रावधानको अभावले काम गर्न चुनौती रहेको बताए । उनले पछिल्लो समय तयार गरिएको शैक्षिक मार्गदर्शनले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा मद्दत गर्ने दावी गरे ।

तपाईको प्रतिक्रिया