सुर्खेत । वीरेन्द्रनगरमा अटो रिक्साको चाप बढ्दा ट्राफिक चुनौती बढिरहेको छ । बढ्दो संख्या र मनलाग्दी चलाउँदा अटो रिक्साका कारण आलोचना पनि उत्तिकै छ । यति मात्रै हैन कतिपय अटो रिक्साले मनलाग्दी भाडा अशुल्ने, यात्रु ठग्ने र सामान नै लिएर भाग्ने घटनाहरु जिल्ला प्रहरी कार्यालयसम्म नै पुग्ने गरेका छन् । उपत्यकामा सञ्चालन हुने अटो रिक्साहरुलाई सही व्यवस्थापन गर्न कानुनी दायरामा ल्याउन नगरपालिकाले अनिवार्य रुट परमिट लिनु पर्ने प्रावधान लागु गरेपछि अटो रिक्सा व्यवसायीहरु आन्दोलित बनेका हुन् ।

नगरपालिकाले जेठ २२ गते परीक्षणका रुपमा रुट परमिट लिए वा नलिएका अटो रिक्साहरुको चेकजाँच ग¥यो । नगरपालिकादेखि घण्टाघर चोकसम्म गरिएको चेकजाँचमा ४० अटो रिक्सा रुट परमिटविनै कारवाहीका लागि नियन्त्रणमा लियो ।

केही दिनमा उनीहरुले नगरपालिकामा पुगेर रुट परमिट लिएपछि सबै अटो रिक्सा छाडियो । तर त्योभन्दा करिव दुई महिना अघि अर्थात् २०७९ चैत २८ गते नगरपालिकाले अटो रिक्सालाई रुट परमिट लिन सुझावदिँदै चेकजाँच गरिसकेको थियो ।
प्रायः अटोरिक्साहरु नियमनमा नआएपछि जेठ अन्तिमसाताबाट मात्रै नगरपालिका कडाइका साथ लागेको हो । तर नगरपालिकाले पुनः जेठ ३० मंगलगढी चोक चेकजाँच गर्दा ३० ओटा अटो रिक्सालाई कारवाहीका लागि नियन्त्रणमा लिएको थियो ।
नगरपालिकाले अटो रिक्साले रुटपरमिट लिए नलिएको अनिवार्य हप्तामा दुई दिन चेकजाँच गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार नगरपालिकाले चेकजाँचमा कडाए गरेको हो । तर जेठ ३२ गते अटो रिक्सा व्यवसायीहरुले रुट परमिट खारेज गर्नुपर्ने, प्रा.लि.मा अनिवार्य आवद्ध हुनुपर्ने नियम हटाउनु पर्ने र नियम लागु गर्ने भए नगरका १६ वटै वडामा जान पाउनुपर्ने भन्दै नगरपालिकामा धर्ना दिए ।
नगरपालिकासँग दुई चरणमा छलफल गरेपनि सकरात्मक छलफल अघि नबढ्दा उनीहरु जिल्ला प्रहरी कार्यालय अघि पुगेर नारा लगाउँदै आन्दोलन स्थगित गरे । नगरपालिकाले बनाएको कार्यविधिमा अनिवार्य यातायात प्रा.लि.मा आवद्ध हुनुपर्ने र प्रा.लि.को सिफारिसमा रुट परमिट नगरपालिकाले जारी गर्ने उल्लेख छ । प्रा.लि.मा आवद्धता शुल्क १० हजार भएपछि नगरपालिकाले प्रा.लि.लाई ५० प्रतिशत छुट दिएर आवद्ध हुन निर्देशन दिएको थियो ।

प्रा.लि.ले पनि तीन महिनाका लागि पाँच हजार बुझाए सिफारिस दिन तयार भयो । तर असार १ गते बजेट भाषण भएकाले उनीहरुले आन्दोेलन स्थगत गरेर पुनः आइतबार (आज) नगरपालिका घेराउका लागि पुगे ।
नगरपालिका पुगेका उनीहरुका माग सम्बोन्धन हुने सम्भावना नदेखेपछि सबै अटो रिक्सा बन्द गराउँन आन्दोलनका लागि मंगललगढी चोक पुगेका थिए । केही बेर अटो रिक्सालाई रोकाएका उनीहरु त्यहाँबाट पुनः पिपिरा चोकतर्फ लागे । मंगलगढी चोकमा अटो रिक्सालाई मात्रै रोकेर आन्दोलनमा लाग्न आग्रह गरेका उनीहरुले पिपिरा चोकमा सडकमा अटो रिक्सा तेर्साएर अवरुद्ध गरे ।
शुक्रबारदेखि नै नगर बस सञ्चालन गरेका सुर्खेतका संयुक्त यातायात व्यवसायीहरुले भाडादर २० रुपैयाँ मात्रै लागू गरेपनि अटो रिक्सा चालकहरु आक्रोशित बनेका छन् । नगर बससहित अन्य सवारी पीपिरा चोकमा रोकिन थालेपछि यातायात व्यवसायीहरु समेत आक्रोशित बने । पिपिरा चोकमा पुगेर यातायात व्यवसायीहरुले सडकमा तेर्साएका अटो रिक्सा हटाएपछि अशान्त बनेको हो ।
चारैतिरबाट प्रहरीमाथि ढुंगामुडा भएपछि प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको हो । एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही बेर अशान्त बनेको पिपिरा चोक प्रहरी नियन्त्रणमा छ । सडकमा यातायात सुचारु भइसकेको छ ।
तर अटो रिक्सा व्यवसायीहरु मत्थर भएका छन् । अटो रिक्सा व्यवसायीहरुमध्य आन्दोलनमा रहेको पक्ष रुट परिमट खारेजी हुनुपर्ने र नगर बस बन्द गरिनुपर्ने माग राखेका छन् । तर अटो रिक्सा व्यवसायीहरुको अर्को पक्षले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएर आन्दोलनमा आफूहरु नभएकाले कपोकल्पित भीडमा कुनै संलग्नता नरहेको र कुनै क्षती भए जिम्मवार नहुने जानकारी गराएको छ ।

नेपाल कर्म । ३ असार २०८०, आईतवार १९:३३