कृषि मन्त्रालयका २६ कार्यालयको प्रगति विवरण लिन समिक्षा

सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका निकायको प्रगति विवरण लिन समिक्षा शुरु भएको छ । मन्त्रालयको आयोजनामा दोस्रो त्रैमासिक तथा अर्ध वार्षिक समिक्षा गोष्ठीमा चालु आर्थिक वर्षको हालसम्म मातहतका कार्यालयले गरेका कामहरुको प्रगति विवरण पेश गर्न लागेका हुन् ।



मन्त्रालय मातहतका २६ वटा कार्यालयहरुका प्रमुखले हालसम्म प्रगति विवरण प्रस्तुत गर्ने र कार्यक्रम कार्यान्वयनका चरणमा देखिएका समस्याहरु प्रस्तुत गर्ने निमित्त सचिव परशुराम रावतले जानकारी दिए ।

‘शुक्रबारसम्म जारी रहेन गोष्ठीमा मुख्यगरी कार्यालयले गरिरहेका कामहरु विवरण लिने, देखिएको चुनौतीलाई कसरी समाधान गर्ने र बजेट कार्यान्वयन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ,’ निमित्त सचिव रावतले भने, ‘चालु आर्थिक वर्षको आधा समयावधि सकिएकाले बाँकी ६ महिनामा थप प्रगति बढाउन निर्देशन दिइनेछ ।’

समिक्षा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै मन्त्री विनोदकुमार शाहले सबै कार्यालय प्रमुखहरुलाई यथार्थ विवरण प्रस्तुत गर्न निर्देशन दिए । विभिन्न कार्यालयबाट समीक्षा गोष्ठीमा सहभागी प्रमुख तथा प्रतिनिधिहरुले यथार्थ विवरण प्रस्तुत गरेको खण्डमा सरकारले आगामी दिनमा नयाँ काम गर्नका लागि सहयोग पुग्ने विश्वास मन्त्री शाहको छ ।

‘विगतका वर्षहरु भन्दा यसवर्ष बजेट खर्च बढेको छ। तर, यस वर्ष सरकारले ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको छ,’ शाहले भने, ‘सबै कर्मचारीहरुले यसमा ध्यान दिनुभयो भने सफलता मिल्छ, बरु देखिएका समस्याको समाधानमा मन्त्रालयले तदरुकता देखाउँछ ।’

मन्त्री शाहले कामको गति सुस्त भएको गुनासो गरे । उनले कर्मचारीहरुलाई काममा जागर देखाएर काम गर्दा मन्त्रालयले एउटा लयमा अगाडी बढ्ने विश्वास व्यक्त गरे।
गोष्ठीमा कृषि विकास विकास निर्देशनालय, कृषि विकास कार्यालय, पशुपन्छी विकास निर्देशनालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, एकीकृत कृषि प्रयोगशाला, भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय लगायतका प्रमुखको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया