कर्णालीका नागरिकले गम्भीर पाँच राेगमा एक लाख रूपैयाँ पाउने

सुर्खेत । कर्णाली प्रदेशका नागरिकले गम्भीर प्रकृतिका पाँच राेगकाे उपचारमा एक लाख सहयाेग पाउने भएका छन् । सरकारले गम्भीर प्रकृतिका रोगको उपचारमा एक लाखसम्मको सहयोग प्रदान गर्नेगरी निवेदन माग गरेकाे हाे ।



प्रदेश सरकारले नागरिकलाई गम्भीर प्रकृतिका मुटु, मिर्गौला, क्यान्सर, स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीहरूलाई उपचार सहयोगवापत एक लाखसम्म उपलब्ध गराउने छ । जसका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले उक्त रकम प्रदान गर्न निवेदन माग गरेको हाे ।

कर्णाली प्रदेशभित्र वा बाहिरका अन्य जुनसुकै अस्पतालमा यस्ता प्रकृतिका रोगको उपचार सेवा लिएका बिरामीलाई एक पटकका लागि एक लाख रुपैयाँ प्रदान गरिने स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

निर्देशनालयले तोकेका गम्भीर प्रकृतिका रोगको उपचार गरेका नागरिकलाई रकम उपलब्ध गराउँदा बिरामीकोम उपचारमा लागेको खर्चको बिल निर्देशनालयमा पेस गुर्नपर्ने निर्देशक खड्काले बताए ।

यो सेवा लिन बिरामीको नागरिकताको प्रतिलिपि तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, रोग खुलेको र अप्रेशन गरेका अस्पतालका कागजात, उपचार गराइरहेको अस्पतालमा भर्ना भएको प्रमाण तथा स्वास्थ्य बीमा परिचयपत्र पेस गर्नुपर्नेछ ।

स्वास्थ्य बीमा नभएकाको हकमा एक पटकको लागि स्वास्थ्य बीमा गर्ने प्रतिबद्धता जनाए उपचारबापतको रकम उपलब्ध गराइने निर्देशनालयले जनाएको छ ।

यस्तै, अस्पतालबाट खर्चको प्रमाणित विवरण, बिरामीको बैंक खाता तथा नाबालकको हकमा संरक्षकको बैंक खाताको विवरण पेस गरे उपचारबापतको एक लाख रुपैयाँ प्राप्त गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया