सुधारिँदै कर्णाली राजमार्ग, सास्ती हट्न अझै १६ महिना लाग्ने

सुर्खेत । कर्णाली राजमार्गमा ओहोर दोहोर गर्ने यात्रुले दैनिक पीडादायी सास्ती झेलिरहेका छन् । वर्षातमा पहिरो र हिउँदमा जिर्ण राजमार्गमा परेका खाल्डाखुल्डीले दैनिक आवजावत गर्ने सयौं सवारी चालक तथा यात्रुहरुले झेलिरहेको दुःखदायी पीडा हो ।



कर्णाली राजमार्गको तल्लोडुंगेश्वर–राकम कर्णाली खण्डको पाल्तडा क्षेत्र ।

कर्णाली राजमार्गको सुर्खेत र दैलेख खण्डमा मात्रै १३२ किलोमिटर दुरी छ । योमध्य सबैभन्दा सास्ती खेपिरहनु परेको क्षेत्र तल्लोडुंगेश्वर, पादुका, टुनिवगर, राकम कर्णाली, खिड्कीज्यूला, किट्टु र दहीखोला हो ।

यो सडक सुधार गर्न यसअघि काम नभएका हैनन् । तर निर्माण व्यवसायीको चरम लापरवाहीका कारण सस्तोमा ठेक्का लिने, ठेक्का लिएकै निर्माण कम्पनीले काम नगर्ने र पेटीमा ठेक्का दिएर समयमै काम नगरेर अलपत्र पारिदिँदा चालक र यात्रुले सास्ती खेप्नु परेको हो ।

यहीँ सडक भएर कर्णालीका दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला र सुदूरपश्चिम प्रदेशका अछाम र बाजुराका नागरिकले दैनिक ओहोर दोहोर गर्छन् ।

‘यात्राका क्रममा कर्णाली राजमार्गमा सबैभन्दा पट्यार लाग्दो यात्रा दही खोलादेखि तल्लोडुंगेश्वरको छ,’ कालिकोटकी अप्रेसा शाही भन्छिन्, ‘राष्ट्रिय राजमार्गको यो गति हुनु राम्रो पक्ष हैन्, एक वर्ष हैन वर्षौंदेखि हामी ओहोरदोहोर गर्दा झेलिरहेको पीडादायी यात्रा हो ।’

सडक सुधारका लागि डिभिजन सडक कार्यालय सुर्खेतले तीन वर्षअघि नै ठेक्काको व्यवस्थापन गरेको हो । निर्माण व्यवसायीले काम लिएर विचमै छाडिदिँदा सडक निर्माणमा लापरवाही गरेको भन्दै आलोचनाको केन्द्र कार्यालय परिरहेको छ ।

कार्यालयले यसअघि ठेक्का गरेका तर काम नगरेर अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर नयाँ ठेक्का व्यवस्थापन गर्न लागेको हो । ‘भर्खरै ठेक्का भएर अबको दुई महिनाभित्र सम्झौता गरेर निर्माण व्यवसायीलाई साइट (कार्यक्षेत्र) मा पठाउनेगरी प्रक्रियामा जुटेका छौं,’ कार्यालय प्रमुुख खुम भण्डारी भन्छन्, ‘अबको एक वर्षमा समस्याग्रस्त राजमार्ग क्षेत्रमा सुधार गरेर नागरिकलाई सहज यात्रा बनाउन लागिपरेका छौं ।’

कार्यालयले पादुका र टुनिवगर क्षेत्रको १२–१२ गरी २४ किलोमिटर र सुर्खेत–दैलेख क्षेत्रको ८ किलोमिटर समस्या देखिएको सडक सुधार गर्न लागेको हो । ठेक्का लागि आह्वान गरिएको बजेट २४ करोड छ ।

‘अहिले ठेक्का व्यवस्थापन गर्न लागिएको सडक धेरै बिग्रिएको र खाल्डाखुल्डी भएको क्षेत्रमा केन्द्रित भएर काम गर्न लागेका हौं,’ भण्डारीले थपे, ‘यी सडकको निर्माण अवधि १६ महिना रहेको छ । असारसम्म लगभग धेरै सुधार हुने अपेक्षा लिएका छौं ।’

सुधार गर्न लागिएको क्षेत्रले समस्या धेरै भएको राकम कर्णालीसम्म कभर हुने र बाँकी रहेको १० देखि १५ किलोमिटर रकमका लागि माग भइसकेकाले ठेक्का व्यवस्थापन गर्ने तयारी कार्यालयको छ ।

राकम कर्णालीदेखि दही खोलासम्मको बाँकी खण्ड सुधार गर्न सकिए अहिलेको असहजता अन्त्य हुने भण्डारी बताउँछन् । सडक विभागमा बाँकी खण्डको सडक सुधार गर्न कार्यालयले झण्डै सात करोड बजेट माग गरेको छ ।

माग गरिएको रकम चालु आर्थिक वर्षमा आउने सम्भावना रहेकाले लगत्तै प्रक्रिया थालेर ठेक्का लगाएर निर्माण शुरु गरिने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया