राउटे समुदायलाई साक्षी राखेर मानव अधिकार आयोगले भन्याे ‘अधिकार संरक्षणमा गम्भीर छाैं’

सुर्खेत । राउटे समुदायको दिगो विकास र जीवनस्तर सुधारका लागि आर्थिक सहायता भन्दा पनि उनीहरूको सीपको व्यवस्थापन गरी उत्पादनलाई बजारीकरण गर्नुपर्नेमा जोड दिइएकाे छ । राउटे समुदायको मानव अधिकार संरक्षण र प्रवर्द्धन अन्तरक्रियामा राष्ट्रिय मानव अधिकार आयोगले उनीहरूकाे अधिकार संरक्षणमा गम्भीर रहेकाे बताएकाे हाे ।



राज्यका तीनै तहका सरकारहरूलाई राउटे समुदायको संरक्षणका लागि विशेष योजना बनाउनमा चुकिरहेका छन् । तर आयोगले प्रदेश मातहतकाे कार्यालयकाे समन्वयमा कार्यक्रम गरेर  राउटे समुदायका नागरिककाे राेहवरमा उनीहरूकाे अधिकार र बेहत्तर हितका लागि गम्भीर रहेकाे दावी गरेकाे छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले राउटे समुदायको परम्परागत संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । उनले सीपमूलक उत्पादनलाई आधुनिकीकरण गर्न र आवश्यकता अनुसार खाद्यान्नको व्यवस्था गर्न जोडदिए ।

सचिव खरेलले पछिल्लो समय पैसाको प्रलोभनमा परेर राउटे समाजको परम्परागत र अस्तित्व नै जोखिममा परेको हुँदा राउटेको परम्परागत संस्कृतिलाई संरक्षण गर्दै उनीहरूको जीवनस्तर उकास्न आधुनिक उपाय अपनाउन आग्रह गरे ।

उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्य न्यायधीश कृष्णलाल भट्टराईले मानव अधिकारको संरक्षण र हरेक नागरिकको अधिकारको सुनिश्चिततामा अदालत सधैं सचेत रहेको बताए ।

उनले मानव अधिकारका मामिलामा अदालतले सधैं गम्भीरताका साथ काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमले राउटे समुदायको संरक्षण र प्रवर्द्धनका लागि दीर्घकालीन नीति निर्माणमा सरकारलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाकाे वडा नम्बर २ गिरीघाट खाेला किनारामा राउटे समुदायकाे बस्ती छ । याे समुदायकाे जनसंख्या १३४ जना छन्। तीमध्ये झण्डै ७३ जना बालबालिका र २३ जना एकल महिला छन ।

रास्कोटी, कल्याल र स्वबंशी गरेर तीन प्रकारका राउटे समुदायकाे बंश रहेकाे छ । एउटै जातिमा विवाह नगर्ने परम्पराका कारण हाल एक मात्र जाती राउटे समुदाय हाे ।

जनसंख्या वृद्धि नहुँदा याे समुदायमा एकल रहेका युवतीहरूको विवाहसमेत हुन सकिरहेकाे छैन् । राउटे संरक्षणका लागि सरकारले राउटे संरक्षण क्षेत्र निर्धारण गरेर एकद्धार पद्धतिको मार्गबाट राउटे करिडोरको अवधारणालाई लागू गर्न सरकार प्रतिबद्ध हुन जरूरी रहेकाे सामाजिक सेवा केन्द्र (साेसेक) नेपाल दैलेखका कार्यकारी प्रमुख हिरासिंह थापाले बताए ।

सामाजिक सेवा केन्द्र (साेसेक) नेपाल दैलेखले राउटे समुदायकाे क्षेत्रमा विगत लामाे समयदेखि विभिन्न कामहरू सञ्चालन गरिरहेकाे छ ।

तपाईको प्रतिक्रिया