दैलेखमा पेट्राेलभन्दा ग्यासको ‘भण्डारण’ भएकाे सङ्केत

काठमाडाैं । पेट्रोलियम अन्वेषणका लागि दैलेखमा भइरहेको उत्खनन अन्तिम चरणमा पुग्न लाग्दा त्यहाँ प्राकृतिक ग्यास रहेको हुन सक्ने कैयौँ सङ्केतहरू भेटिएका अधिकारीहरूले बताएका छन्।



तर प्राप्त नमुनाहरूको विश्लेषणपछि मात्रै व्यावसायिकरूपमा ग्यास उत्खननको सम्भावना रहे वा नरहेको थाहा हुने खानी तथा भूगर्भ विभागका विज्ञहरूको भनाइ छ।

उत्तरी छिमेकी चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको ड्रिलिङ अन्तर्गत ४,००० मिटर गहिराइसम्म उपकरणको सहायतामा खनेर नमुना निकाल्न सुरु भएको थियो। शुक्रवारसम्म ३,९४४ मिटर गहिराइसम्म ड्रिलिङ सकिएको विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ।

बाँकी ५६ मिटर ड्रिलिङ छिटै सकिने आकलन गरिएको परियोजनाका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले जानकारी दिए। चीनको चाइना जिओलोजिकल सर्वेले दैलेखको जलजलेमा पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम सक्ने फेब्रुअरी २८ सम्मको समयसीमा पाएको छ।

‘त्यहाँबाट व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने निर्क्योलका लागि अझै समय लाग्न सक्छ,’ त्रिपाठी भन्छन्, ‘ूअहिले विभिन्न गहिराइबाट सङ्कलन गरिएका चट्टानका नमुना थप अध्ययनका लागि चीन पठाइने छ। त्यसको विश्लेषण समेतका आधारमा मात्रै त्यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने थाहा हुन्छ।’

विभागका अनुसार चिनियाँ पक्षले दिने प्रतिवेदनबारे थप अध्ययन पछि मात्रै दैलेखमा व्यावसायिक रूपमा पेट्रोलियम पदार्थको उत्खननको सम्भाव्यता पत्ता लाग्छ।

विभागका अधिकारीहरूका अनुसार ड्रिलिङका क्रममा उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ रहेका सकारात्मक सङ्केतहरू भेटिएका छन्। ड्रिलिङका क्रममा २,२०० मिटरको गहिराइबाटै ग्यास भेट्न सुरु भएको र त्यसभन्दा तलको गहिराइमा पनि विभिन्न तहमा ग्यास भेटिएको त्रिपाठी बताउँछन्।

‘अहिलेसम्मको ड्रिलिङको तथ्याङ्कहरूले सकारात्मक सङ्केतहरू दिएका छन्,’ त्रिपाठी भन्छन्, ‘ूत्यहाँ ग्यास पहिचान गर्ने उपकरण राखिएका हुन्छन्। त्यहाँ समय समयमा २,२०० मिटरभन्दा तल गएपछि ग्यासहरू पहिचान भएका छन्। अहिलेसम्मको अध्ययन छ वा छैन भन्ने पत्ता लगाउने मात्रै हो। फेरि त्यो व्यापारिक महत्त्वको हो वा होइन भनेर छुट्ट्याउन चाहिँ थप अध्ययन र विश्लेषण हुन जरुरी हुन्छ।’

विभागका प्राविधिकहरूका अनुसार निश्चित गहिराइसम्म पनि कुनै सङ्केत नभेटिएको भए थप ड्रिलिङ नगर्ने तयारी थियो। तर सकारात्मक सङ्केतहरू भेटिएका कारण चार किलोमिटर गहिराइसम्मै ड्रिलिङ गर्ने निर्णयमा परियोजना पुगेको त्रिपाठी बताउँछन्।

दैलेखमै रहेका परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेल चार किलोमिटर गहिराइको ड्रिलिङ सकिएपछि हुने प्राविधिक विश्लेषणहरूबाट मात्रै पेट्रोलियमको खानीबारे यकिन निचोड निकाल्न सकिने बताउँछन्।

‘हामीले त्यहाँको चट्टानको नमुना परीक्षण र त्यसको विश्लेषण गर्ने हो। चट्टानमा भएका छिद्रको अध्ययनबाट भण्डारणको अवस्था पत्ता लगाउन सकिन्छ। त्यहाँ भएका सोर्स रक र रिजभ्वेर रक ग्यास वा तेलको स्रोत बन्न सक्ने किसिमका छन् कि छैनन् भन्ने आधारमा भण्डारण कत्रो छ भनेर विश्लेषण गर्नु पर्छ नतिजा आइसकेपछि मात्रै हामीले कुन स्तरको भण्डारण हुन सक्छ भन्न सक्छौँ,’ उनी भन्छन्।

दैलेखको भैरवी गाउँपालिकाका विभिन्न स्थानमा यसअघिबाटै प्राकृतिक ग्यास पाइने ठाउँहरू छन्। यस्तो ग्यासबाट त्यहाँका कतिपय तीर्थस्थलमा अखण्ड दीप पनि बाल्ने गरिएको स्थानीय बताउँछन्।

भैरवी गाउँपालिकाकी अध्यक्ष रीताकुमारी शाहीले गाउँका कैयौँ स्थानमा ग्यासको खानी भएका सङ्केतहरू रहेको बताइन्। पेट्रोलियम अन्वेषण परियोजनास्थलमा रहेका लुइँटेलले प्रारम्भिक अन्वेषणबाट उक्त क्षेत्रमा तेलभन्दा प्राकृतिक ग्यास रहेको सङ्केतहरू भेटिएको बताए।

‘त्यहाँ तेलभन्दा ग्यासको सम्भावना बढी देखिन्छ। सतहमा भेटिएका ग्यासहरूले पनि त्यसको आधार देखाइसकेका छन्। तर भण्डारको आयतन कति छ भन्ने नै यकिन हुन बाँकी छ,’ लुइँटेल भन्छन्।

चिनियाँ कम्पनीका नेपालस्थित मानव संशोधन संयोजक सूर्यमणि लामिछानेका अनुसार पेट्रोलियम अन्वेषणका लागि चीनसहित कैयौँ देशमा पेट्रोलियम अन्वेषणमा काम गरिसकेका अनुभवी विज्ञहरू पनि अध्ययनका लागि नेपाल आएका थिए।

अहिले करिब ३५ जना प्राविधिक र विज्ञहरूले खानी तथा भूगर्भ विभागका विज्ञ र स्थानीयको सहयोगमा काम गरिरहेका बताइएको छ। भैरवी गाउँपालिकाकी अध्यक्ष शाहीका अनुसार खानी अन्वेषणको काम भइरहेको जलजले क्षेत्रमा मानिसहरू घुम्न आउने क्रम बढेको छ।

मुगुको रारा ताल जाने कतिपय पर्यटकसमेत त्यही बाटो हुँदै घुमेर जाने-आउने गरेको स्थानीयहरू बताउँछन्। ‘भारतबाट रारा घुम्न आउनेदेखि नेपालकै विभिन्न जिल्लाबाट घुम्न आउने पनि बढेका छन्। त्यो क्षेत्रमा अहिले व्यापार व्यवसाय पनि बढेको छ,’  शाहीले भनिन्, ‘अहिले अन्वेषणको काम हुँदा पनि यहाँका २५ जनाले रोजगारी पाएका छन्। खानी चल्ने भयो भने त हाम्रो पालिकालाई पनि राम्रो हुने थियो।’

ड्रिलिङका लागि बनाइएको अग्लो संरचना टाढैबाट देखिने भएका कारण पनि मानिसहरू घुम्न आउने क्रम बढेको वरिष्ठ भूगर्भविद् त्रिपाठीले बताए। याे समाचार विविसीबाट साभार गरिएकाे हाे ।

तपाईको प्रतिक्रिया