सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेट ल्याएसँगै आर्थिक मामिला तथ योजना मन्त्रालयले पत्रकार भेटघाट कार्यक्रम गरेको छ। बजेट प्रस्तुत गरेपछि पहिलो पट्क अर्थ मन्त्रालयको आयोजनामा आइतबार उक्त कार्यक्रम भएको हो।
उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणका क्रममा आफ्नो निजी सचिवालयका साथीहरूलाई बार्गेनिङ्ग र प्रलोभन आएको बताए। उनले भने, ‘बजेट बनाउँदा योजना हाल्नका लागि सरकारी निकायकै मातहतका व्यक्तिहरुबाट मेरो सचिवालयका साथीहरुलाई बार्गेनिङ्ग, दबाब र धम्की तमाम कुरा आएका छन्। जसले हिजो परम्परावादी हिसाबले त्यहीँ काम गरेर बस्नु भएको रैछ। उहाँहरुले कोसिस गर्नुभएको रहेछ। ती सबै प्रमाण हामीले सुरक्षीत राखेका छौँ।’



साथै मन्त्री सिँहले प्रदेश योजना आयोगका मान्छेबाट बजेटमा दबाब र बार्गेनिङ्ग आएको बताए। उनले आफूसँग बिचौलियाहरूका सबै प्रमाण सुरक्षित राखिएको र आवश्यक परे सार्वजनिक गर्ने दाबी समेत गरे।
‘म कहाँ नै नआएपनि हाम्रो सचिवालयमा विभिन्न प्रकृतिका म्यासेज, टेलिफोन, विभिन्न किसिमका आग्रह, प्रलोभन र बजेट निर्माणलाई प्रभाव पार्ने धम्की समेत आए,’ उनले भने,‘ कतिपयले पैसा बुझ्न आउनुस् भने, कसैले चेक लैजानूहोस् समेत भने। ती सबै कुराहरुलाई हामीले रेकर्ड गरेर राखेका छौँ। आवश्यक परे सार्वजनिक पनि गर्नेछौँ। त्यस्ता कोही जागिरमा आबद्ध मान्छेहरू पनि छन्, सबैलाई हामीले लिपिबद्ध गरेर राखेका छौँ। बिस्तारै कानुन, ऐन, नियम अनुसार अगाडि बढाइने छ।’

नेपाल कर्म । ३ असार २०८०, आईतवार १९:१४