विकास र समृद्धिका लागि एकमत कर्णाली र लुम्बिनी सरकारले राखे कोहलपुर–बबई सुरुङ मार्ग

सुर्खेत । विकास र समृद्धिका लागि कर्णाली र लुम्बिनी प्रदेशले साझा प्रतिबद्धता जाहेर गरेका छन् । कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई प्रदेशबीच साझा समझदारी बनेको हो ।



सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मुल मर्मअनुरूप सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगको सिद्धान्तलाई आत्मसात् गर्दै दुई प्रदेशको अन्तरआबद्धता र सहकार्यलाई सुदृढ गर्दै कर्णाली र लुम्बिनीको समग्र विकास र समृद्धिका लागि मुख्यमन्त्रीद्वय यामलाल कँडेल र चेतनारायण आचार्यले साझा प्रतिबद्धता गरेका हुन् ।

समझदारीमा कोहलपुर–सुर्खेत सडक विस्तार र कोहलपुर–बबई तथा बबई–छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययन अध्यायन गर्न र सडक पूर्वाधार निर्माणका लागि आवश्यकताअनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने भन्ने उल्लेख गरेका छन् ।

यस्तै, अन्तर–प्रदेश आबद्ध भएका जमुनाह–हिल्सा सडक, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, राप्ती लोकमार्ग निर्माण, लुम्बिनीका विमानस्थलबाट कर्णालीका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने, भैरहवा–सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने, कोहलपुर–सुर्खेत १३२ के.भी.ए. प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने बुदामा समावेश छ ।

दुबै प्रदेशको वृहत्तर हित गर्ने सह-लगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने, विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयात्मक ढङ्गबाट कार्य गर्ने र लागू औषध ओसारपसार प्रभावकारी रुपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।

लुम्बिनीमा आउने धार्मिक पर्यटकहरूलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्ने गरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने, दुबै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणको लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने, दुबै प्रदेशको सीमानामा रहेका नदीनालाहरूमा जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, खानेपानी तथा सिंचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गरिने छ ।

प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारहरूको निर्माणमा सहलगानी तथा साझेदारी गर्ने र बर्दिया जिल्लाको बाँसगढी नगरपालिका, वडा नं. १ र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका, वडा नं. ५ को साँध सिमानाको विवाद प्रचलित कानून र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने दुबै प्रदेशका मुख्यमन्त्रीले समझदारी गरेका छन् ।

साथै, दुबै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रुपमा निर्धारण गर्ने र सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने, कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारी र अन्य उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रहरूसम्मको पहुँच एवं लुम्बिनी प्रदेशको खाद्यान्न लगायतका कृषि उत्पादनको प्रवर्द्धन गर्दै कर्णाली प्रदेशका बजार केन्द्रहरूसम्मको पहुँच बढाउन तथा बजार पूर्वाधार तयार गर्न समन्वय र सहकार्य गर्ने दुवै प्रदेश मुख्यमन्त्रीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

 दुबै प्रदेशको विकास, समृद्धि र सुशासन प्रवर्द्धनको लागि सूचना प्रविधिको माध्यमबाट सेवाप्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने र दुबै प्रदेशको साझा सहकार्य, समन्वय र साझेदारीलाई प्रवर्द्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिदै आगामी बैठक लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने निर्णय गरेका छन् ।

त्यस्तै, प्रदेशबाट तर्जुमा हुने र भएका कानूनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरुपता कायम गर्ने, प्रदेश कानून बमोजिम लगाइने करका सम्बन्धमा दुबै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने, राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुबै प्रदेश सरकारको तर्फबाट नेपाल सरकार समक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने समझदारी गरेका हुन् ।

तपाईको प्रतिक्रिया