सुर्खेत । कर्णालीमा उत्पादन हुने रैथाने बालीको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले वीरेन्द्रनगरमा फुड फेस्टिव आयोजना हुने भएको छ । निजि क्षेत्रको प्रयासमा पहिलो पटक साना तथा लघुउद्यमीलाई प्रोत्साहन गर्दै कर्णालीका अर्गानिक उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्न फेस्टिवल गर्न लागएको हो । शुभ होटलको आयोजनामा शनिबारदेखि १६ (मंगलबार) गतेसम्म फेस्टिवल आयोजना हुनेछ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शुभ होटलका संस्थापक अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा उत्पादन हुने स्थानीय रैथाने बालीका परिकारसँगै सुपथ मूल्यका खाद्य स्टल राखिने बताए । चार दिनसम्म चल्ने उक्त फेस्टिवलमा साना तथा लघु उद्यमीहरुलाई प्रोत्सहान गर्न कर्णालीमा उत्पादित वस्तुहरुका १५ वटा निशुल्क स्टलको व्यवस्था गरिएको शाहीले बताए । यसको मुख्य उद्देश्य रैथाने बाली उपभोग र बजारीकरण रहेको शाहीले बताए । उक्त फेस्टिवल अवलोकन गर्न शुल्क तिर्न नपर्नेसमेत शाहीले बताए । शुभ होटलको प्राङ्गणमा हुने फेस्टिवलमा प्रवेश निशुल्क गरिएको छ ।
यस्तै, उक्त फेस्टिवलमा कर्णालीको मौलिक संस्कृति जर्गेना गर्न सांस्कृति प्रर्दशनीसमेत हुनेछ । उक्त प्रदर्शनीमा हुड्के लगायतका कर्णालीको संस्कृति झल्कने मौलिक नाचहरु प्रस्तुत हुने बताइएको छ । फेस्टिवलकै अवसरमा कर्णालीका उद्योगी र कृषि क्षेत्रमा संलग्न व्यक्तिहरुले झेल्नु परेका नीतिगत अल्झनका बारेमा प्रदेश सरकारसँग छलफलसमेत हुनेछ । यस्तै, अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुभ होटलले विभिन्न साङ्गितिक कार्यक्रमसमेत आयोजना गर्न लागेको छ । जसमा बिजनेश एकस्पो, मम्युजिक कन्सर्ट, मल्टी कौसिन फुड स्टल, कल्चरल पर्फमेन्स लगायत रहेका छन् ।
नेपाल कर्म । १२ पुष २०८१, शुक्रबार १७:४९