सुर्खेत, मंसिर ११ । अखिल नेपाल फुटबल संघ (एन्फा) को विधानअनुसार सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष रविन्द्र चन्द ठकुरीमाथि पदमुक्तिको माग गर्दै विशेष साधारण सभा बोलाउन अविश्वास पत्र जाहेर गरिएको छ। ठकुरीले विधानविपरीत मनोमानी गर्दै भोटिङ्ग अधिकार भएका क्लबहरूको मताधिकार बञ्चित गर्न खोजेको, संघको छाप परिमार्जन गर्न लागेको र क्लबहरूमाथि अकारण कारबाही गरेको आरोपसहित फ्रेन्डसिप स्पोर्ट्स क्लबका सचिव सरद भण्डारीको नेतृत्वमा १६ क्लबले हस्ताक्षर गर्दै एन्फालाई पत्राचार गरेका छन्।
निवेदनमा ठकुरीले संघीय गतिविधि मनोमानी ढंगले सञ्चालन गरेको र विधानले निर्दिष्ट गरेको समयसीमाभित्र साधारण सभा नगरेको उल्लेख गरिएको छ। एन्फाको विधानअनुसार ४० प्रतिशत सदस्यहरूको सहमतिमा विशेष साधारण सभा बोलाउनुपर्ने कानुनी प्रावधान रहेको हुँदा, ठकुरीलाई बर्खास्त गरी तदर्थ समिति गठन गर्नुपर्ने माग गरिएको छ।
सचिव भण्डारीका अनुसार, १७ मताधिकार प्राप्त क्लबहरूमध्ये १४ क्लब र थप दुई ए डिभिजनमा बढुवा भएका क्लबहरूले अविश्वास पत्रमा सहमति जनाएका छन्। २०८१ माघ मसान्तसम्म विशेष साधारण सभा बोलाएर समाधान नगरिएमा, विधानअनुसार क्लबहरूले नै सभा आह्वान गर्ने चेतावनी दिएका छन्।
यस विषयमा अध्यक्ष ठकुरीले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर, यो विवादले सुर्खेत जिल्लाको स्थानीय फुटबल गतिविधिमा गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ। एन्फा केन्द्रीय कार्यालयले विशेष साधारण सभा समयमै सम्पन्न गर्न निर्देशन दिँदै सुर्खेत जिल्ला फुटबल संघलाई पत्राचार गरिसकेको छ।
फ्रेन्डसिप स्पोर्ट्स क्लबका सचिव सरद भण्डारीले ठकुरीको नेतृत्वले फुटबल संघमा अनुशासनहीनता ल्याएको दाबी गर्दै यसले सुर्खेतको फुटबल विकासमा बाधा पुर्याएको बताएका छन्। विवाद समाधानका लागि एन्फाको निर्णायक कदम अब अपरिहार्य बनेको छ।
नेपाल कर्म । ११ पुष २०८१, बिहीबार १५:२६