शुरु भयो मनसुन, त्रसित कर्णाली

पछिल्ला दुई वर्षमा बाढी र पहिरोबाट मात्रै १२२ जनाको मृत्यु

सुर्खेत । यो वर्षको मनसुन सक्रिय भएसँगै पूर्व नेपाल आक्रान्त बनिरहँदा कर्णालीलाई झस्काएको छ । हालसम्म कर्णालीमा मनसुन सक्रिय बनेको त छैन, तर पूर्वी नेपालको वितण्डाले कर्णालीलाई आवश्यक तयारीका लागि सतर्क रहन खतराको घण्टी बजाएको छ ।




भिरालो जमिन, त्यसमाथि जथाभावी डोजर प्रयोग गरी खनिएका सडक । बर्षातको मौसम सुरु हुनासाथ कर्णालीमा पहिरो बग्न थाल्छ । बाढी र पहिरोकै कारण कर्णालीमा बर्सेनी ठूलो मानवीय र धनजनको नोक्सान हुने गरेको छ ।

वर्षातमा हरेक बर्ष पहिरोको पीडा खेप्दै आएको कर्णालीमा यो बर्ष पनि मनसुन सुरु भएसँगै बाढी र पहिरोको त्रास पनि सुरु भएको छ । अर्थात देशको पूर्वी क्षेत्रका बाढी र पहिरोले वितण्डा मच्चाउन थालेपछि कर्णालीमा पनि सम्भावित जोखिमबाट हुने क्षती काम गर्नका लागि सरोकारवाला निकायहरुलाई पूर्वतयारीमा जुट्न अलार्म बजाइसकेको छ ।

तर आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकाय पूर्वत्का सबै तयारी अवस्थामा रहेको बताउँछन् । ‘शुरुवातीमा पूर्वी नेपालका क्षती हेर्दा भौगोलिक भूवनावट नै कठिन रहेको कर्णालीमा क्षती नगर्ला भन्न सकिदैन्,’ रोकाया भन्छन्, ‘विगतका वर्षको तथ्याङ्कअनुसार पनि कर्णालीले ठूलो मानवीय र धनजनको क्षती व्यहोर्नु परेकाले यो वर्ष त्यस्तो नहोस् कामना गरौं । तर मन्त्रालयले गर्ने सबै तयारीमा कुनै कमजोरी गरेको छैन्, हामी तयारी अवस्थामा छौं ।’

कर्णालीमा पछिल्ला दुई वर्षको तथ्याङ्कअनुसार बाढी र पहिरोबाट १२२ जनाको मत्यु भएको छ । आंशिक र पूर्ण घर क्षती तीनसय ४१ छन् । अन्य टहराहरु दुई हजार ९१० ओटामा क्षती पुगेको तथ्याङ्क मन्त्रालयसँग छ । प्रदेशमा मनसुन सक्रिय भएमा हुन सक्ने सम्भावित जोखिम टार्न मातहतका सबै निकायलाई हाइअलर्टमा राखिएको छ ।

वर्षातका कारण बाढी पहिरो गएमा तत्काल उद्दार तथा राहत पु¥याउन सुर्खेतमा नेपाली सेनाको पश्चिम एयरवसको हेलिकोप्टर परिचालन गर्न समन्वय गरिएको रोकाया बताउँछन् । उनले सुरक्षाका सबै निकायसँग उद्दार र खोजीका लागि आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन पनि दिइसकिएको छ ।

कर्णालीको विपद् कोषमा हाल चार करोड ९९ लाख १६ हजार २७८ रुपैयाँ मौज्दात छ । मन्त्रालयले जिल्लामा रहेका स्थानीय प्रशासनसँग मौज्दात रहेको रकमको अवस्था खोजी गरेर हाल १० वटै जिल्ला प्रशासनमा प्रयाप्त रकम रहेको छ ।

तत्काल विपदबाट क्षती भएमा राहत वितरण र आवश्यक सामग्री खरिदका लागि सबै जिल्ला प्रशासनको विपद व्यवस्थापन कोषमा संघ र प्रदेशबाट प्राप्त भएको रकम प्रयाप्त रहेको रहेको जानकारी टिपाएको रोकाया बताउँछन् ।

मुगुमा ५८ लाख ४९ हजार, डोल्पामा १७ लाख ५० हजार, कालिकोटमा तीन करोड ८२ लाख, हुम्लामा ३७ लाख ९२ हजार र जुम्लामा ३५ लाख रुपैयाँ कोषमा जम्मा छ । यस्तै, सल्यानमा ३३ लाख सात हजार, रुकुम पश्चिममा २३ लाख ९१ हजार, सुर्खेतमा एक करोड ५२ लाख, दैलेखमा २७ लाख ३३ हजार र जाजरकोटमा १९ लाख ८८ हजार रकम कोषको खातामा रहेको छ ।

यो वर्षपनि मनसुनबाट कर्णालीका आठ हजार ८५ घरधुरीका ३५ हजार ३३३ जना नागरिक प्रभावित हुने अनुमान गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा समावेश छ । कर्णालीमा मुख्यगरी दैलेख, कालिकोट, रुकुमपश्चिम र हुम्ला पहिरोको उच्च जोखिम तथा सुर्खेत बाढीको खतरा भएका जिल्ला हुन् ।

पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सडक अवरुद्ध भएमा सडक डिभिजन कार्यालयसँगको समन्वयमा सुचारु गर्न तयारी अवस्थामा डोजर राखिएको छ । स्थानीय पालिकाहरुले पहिरो र बाढी जाने सक्ने सम्भावित क्षेत्रको रेखाङ्कन गरेर नागरिक र धनजनको सुरक्षाका लागि पूर्व तयारीमा जुटेको बताएका छन् ।

तपाईको प्रतिक्रिया