मारुनी नाचकाे अस्तित्व जोगाउँदै लयपातलका मगर समुदाय

सुर्खेत । मारुनी नाच नेपालको परम्परागत नृत्य हो। भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारुनी बनाई मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, कुमाल, खस जाती, जातीहरूको मुख्य संस्कृति हो ।



तर पछिल्लो समय मारुनी नाचको अस्तित्व नै धरापमा छ । नयाँ पुस्ताले खासै रुची नराख्दा यो नाच लोप भइरहेको छ । समूहगत रूपमा नाचिने यस परम्परागत नृत्यमा सबै काम नियम पूर्वक हुनु पर्ने परम्परा छ।

दुई अथवा तिन जना मादले, दुई वा तिन जना मारुनी, एक पुर्सिङ्गे अथवा पुछ्रुङ्गे, कम्तीमा आठ जना बढीमा बिस जना गायकहरू रहेर नाच्ने प्रचलन हो । पुख्र्यौंली मारुनी नाचको अस्तित्व जोगाउन दैलेख लयपातलका युवाहरु लागेका छन् ।

आठविस नगरपालिका–५ लयपातल मगर समुदायको बाहुल्य बस्ती छ । विकट क्षेत्रमा यहाँका नागरिकहरु मगर भाषा नै बोल्ने गर्दछन् । स्थानीय सरकारले अपनत्व लिएर कला संस्कृति र भाषालाई जोगाउनु पर्नेमा स्थानीय युवाहरुले पुर्खाको सम्पत्तीलाई जोगाइराख्न जुटेका छन् ।

‘पुस्तौँ पुस्तादेखि निरन्तर चलि आएको सांस्कृतिक परम्परा दैलेख जिल्लाको दुई तीन ठाउमा मात्र नचिने मारुनी नाच दसैंमा बान्ने प्रचलन छ,’ स्थानीय समाजसेवी मनिराम बढामगर भन्छन्, ‘दशैंमा बानेको मारुनी नाच यहीं पुस महिनामा समापन गर्ने तरखरमा सबै गाउँले मिलेर नाच गान गरेका हौं ।’

सिमे भुमे देवीको पुजाआज गरेर यो वर्षको मारुनी नाच समापन गरेको बुढामगरको भनाई छ । ‘मारुनी नाच सुरु गर्नुलाई नाच बाँध्ने भनिन्छ। नाच बन्द गर्नुलाई नाच फुकाउने भनिन्छ,’ उनले भने ।

मादलको तालमा मारुनी र मादले नाच्ने यस नाचमा ताल पनि परम्परागत नै रहन्छ । यो परम्परागत नृत्य बुढा पाकाहरूले मात्र जानेका र हालको पिंढीले झन्झट मान्ने भएकाले अब आएर यो मारुनी नाच लोप हुने अवस्थामा पुगेको उनी बताउँछन् ।

स्थानीय सरकारले साथ दिएमा मारुनी नाचलाई अझै व्यवस्थित बनाउन सहज हुने तर्क उनको छ । उनले मारुनी नाचको परम्परागत नियमहरूमा प्रायः एक रुपता पाइए पनि नाचमा प्रयोगहुने गितहरूको लय र भाषामा स्थान र समुदाय अनुसार फरक फरक रहेको बताए ।

तपाईको प्रतिक्रिया