लक्ष्मी सनराईज बैंकले गर्याे डिजिटल संवाद

सुर्खेत । वीरेन्द्रनगरमा रहेकाे लक्ष्मी सनराईज बैंकले डिजिटल डिसेम्बर पहल अन्तर्गत डिजिटल संवाद गरेकाे छ । डिजिटल वित्तीय सचेतना फैलाउने उद्देश्यले व्यापारी, कर्मचारी, प्राध्यापक, जनप्रतिनिधी तथा अन्य सरोकारवाला पक्षसँग डिजिटल संवाद बैंकले गरेकाे हाे ।



बैंकले चालु डिसेम्बर महिनामा डिजिटल कारोबारलाई प्रवर्द्वन गर्ने उद्देश्यले विभिन्न अफर, अभियान तथा अन्तरकृयाहरु गरी डिजिटल डिसेम्बरका रुपमा मनाईरहेको छ । संवादले डिजिटल कारोबारका सहजता र समस्याका विषयमा विमर्श गरेको हॊ ।

नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालका उप-निर्देशक बाबुराम कोइरालाले डिजिटल भुक्तानी र कारोबार आजको युगमा महत्त्वपूर्ण बन्दै गएको अवस्थामा यसबाट हुनसक्ने स्क्याम (Scram) तथा अन्य ठगीबाट बच्न ग्राहकहरु सचेत बन्नुपर्ने जाेड दिए ।

संवाद कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका व्यवस्थापन संकायका डिन दिप बहादुर रावलले विश्वविद्यालयका विभिन्न पाठ्यक्रमलाई समेत परिमार्जन गर्दै डिजिटल बैँकिङ्ग प्रविधिहरु सम्बन्धी कक्षाहरु पनि सञ्चालन गर्दै लगिने बताए ।

नेपाल प्रहरी साइबर सुरक्षा व्युरोका प्रतिनिधि प्रहरी सहायक निरीक्षक शशिकुमार वि.क. ले डिजिटल ठगी र यसबाट बच्न अपनाउनु पर्ने सावधानीहरुका बारेमा जानकारी गराएका थिए ।

सुर्खेत उद्योग वाणिज्य संघका कार्यालय प्रमुख गणेश कार्की, सुर्खेत युवा उद्यमी फोरमका प्रथम उपाध्यक्ष लक्ष्मी कार्की तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा सदस्य मिरा पन्त बोहोराले व्यवसायी तथा जनसमुदायमा डिजिटल बैंकिंगको बढ्दो प्रयोग र यसमा देखिएका समस्याबारे आफ्नो धारणा राखे ।

इ-सेवा (eSewa) को तर्फबाट कर्णाली प्रदेशका सेक्टर लिड आविस्कार भण्डारी र नयाँ डिजिटल युगको प्रविधि orangeNXT को तर्फ बाट युनुस जोशीले पनि डिजिटल बैँकिङ्ग बारे आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रममा लक्ष्मी सनराइज बैंकका डिजिटल च्यानल अपरेशन्स विभाग प्रमुख सुमन प्रसाद गेलाल, लक्ष्मी सनराइज बैंकका कर्णाली प्रदेश प्रमुख दिवाकर दत्त जोशी लगायत अन्य पदाधिकारीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया