कोठामा कोईला बालेर सुुतेका आमा र छोराको मृत्यु, छोरी गम्भीर घाइते

सुर्खेत । वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ । वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोईला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको निस्सासिएर मृत्यु भएको हो ।



मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती छन् । गम्भीर घाइते नौ वर्षीय रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

‘बुधबार राती खाना खाएर सुतेका तीन जना विहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खवर गर्नुभएको थियो,’ उनले भने, ‘प्रहरी पुगेर ढोका फोडेर उहाँहरुलाई तत्कालै अस्पताल पु¥याइएकोे थियो । तर चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरिदिनुभयो तर रियाको मुटुको चाल चलिरहेको पाइएपछि सघन उपचार कक्षमा अहिले उपचार भइरहेको छ ।’

उनीहरूलाई उद्दार गरिरहेको बेला अर्धअचेत अवस्था भएकाले तत्कालै अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । उनीहरु सुतेको कोठामा झ्याल लगाइएको र तसलामा कोईला बलिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

कोठामा कोईला बाल्दा कार्बनमोनोअक्साइड ग्यास भरिएको र अक्सिजनको मात्रा कम भएकाले निसास्सिएर नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आगो, कोइला, ग्यास गिजर बाल्दा कार्बनमोनोअक्साइड नामक ग्यास उत्पादन हुने गर्दछ । धेरै समय बाल्दा अक्सिजनको सट्टा रगतमा कार्बन मोनोअक्साइड टाँसिने हुन्छ ।

कार्बनमोनोअक्साइड बढ्दै गयो भने शरीरमा अक्सिजन टाँसिने ठाउँमा कार्बनमोनोअक्साइड टाँसिने र शरीररमा अक्सिजन कम भएर दुर्घटना निम्तिने भएकाले धेरै समय बालेर राख्नु नहुने र हावा आवातजावत गर्ने ठाउँ हुनुपर्ने बताउँछन् प्रदेश अस्पताल सुर्खेतका फिजियसन डा. केएन पाैडेल ।

उनले चिसो मौसममा बालबालिका र जेष्ठ नागरिकलाई विशेष ध्यान दिन उनको सुझाव छ । ‘ज्येष्ठ नागरिक र बालबालिकामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । आगो, कोइला, हिटरभन्दा पनि न्यानो लुगा लगाउनुपर्छ । तातो पानी, झोलिलो पदार्थमा जोड दिनुपर्छ,’ उनले भने ।

आगो, हिटर, कोइला लामो समय ताप्दा टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने, वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।

चिकित्सकका अनुसार यी कुराको ख्याल गरौँ

-ग्यास, कोइला, आगो, हिटर खुल्ला ठाउँमा बाल्ने
-नजिकै बसेर नताप्ने
-यदि बालेमा हावा आवतजावत हुने ठाउँमा बाल्ने
-झ्याल ढोका भेन्टिलेटर खुल्ला राख्ने
-बालबालिकाले भेट्ने ठाउँमा हिटर, ग्यास, कोइला नराख्ने
-श्वासप्रश्वासमा समस्या भएकाहरूले धेरै समय नताप्ने
-न्यानो कपडा लगाउने
-तातो झोलिलो पदार्थमा जोड दिने

तपाईको प्रतिक्रिया