महिला हिंसाविरुद्धको अभियानमा महिला नेतृत्व तहको भूमिका



सुर्खेत, वीरेन्द्रनगर। महिला हिंसाका सबै खाले रूपहरूको अन्त्यका लागि राज्यको जिम्मेवारीबोध र स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य रहेको विभिन्न वक्ताहरूले बताएका छन्। वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले महिलाविरुद्ध हुने हिंसाको अन्त्यका लागि केवल अभियान सञ्चालन गरेर मात्र नभई महिलाका सवालहरू प्राथमिकतामा पर्नुपर्नेमा जोड दिएकी छिन्।

गैरसरकारी संस्था महासङ्घ सुर्खेतको आयोजनामा “नेतृत्व तहमा महिलाहरूको भूमिका र अवस्था” विषयक संवाद कार्यक्रम सोमबार सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिला नेतृत्व सक्षम र अर्थपूर्ण हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नगर प्रमुख ढकालले वीरेन्द्रनगर नगरपालिकाले सशक्त महिलाहरू निर्माणका लागि “छोरीमैत्री नगर” को अवधारणा अघि सारेको र आयआर्जन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषिमा महिलालाई प्राथमिकता दिने नीति अवलम्बन गरेको बताइन्। “महिलाका सवालहरू उठाउनु नै वास्तविक नेतृत्वको संकेत हो। बजेटको परिमाण होइन, त्यसको प्रभावकारिता महत्त्वपूर्ण हुन्छ,” उनले भनिन्।


उनले महिला हिंसाविरुद्ध “शून्य सहनशीलता” नीति पालना गर्दै नगरपालिकाले अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै महिलाविरुद्धका हिंसा उन्मूलनका लागि सबै पक्षको एकजुटता आवश्यक रहेको बताइन्।

कार्यक्रममा सहभागी वीरेन्द्रनगर वडा नं.६ की सदस्य कमला नेपालीले आफूले राजनीतिक तहमा सहभागिता पाए पनि पर्याप्त सक्षमता नहुँदा सुरुवाती चरणमा कठिनाइहरू झेल्नुपरेको अनुभव साझा गरिन्। तर समयसँगै क्षमता अभिवृद्धि गर्दै आफू नेतृत्वको हिसाबले स्थापित हुन सफल भएको बताइन्। “नेतृत्वको उपलब्धिलाई अर्थपूर्ण बनाउने मुख्य आधार सशक्त सहभागिता हो,” उनले भनिन्।

यस्तै, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका प्रतिनीधि इन्द्रेणी नेपालका अध्यक्षले समुदायले पछिल्लो समय केही प्रतिनिधित्व पाउन थाले पनि उनीहरू अझै पनि शिक्षा, रोजगारी र सामाजिक व्यवहारमा विभेदको सामना गर्नुपरेको गुनासो गरे। “राजनीतिक र शैक्षिक तहमा सशक्तिकरण नहुँदा हाम्रो समुदायका धेरै व्यक्तिहरू यौन व्यवसायमा लाग्नुपर्ने बाध्यता छ,” उनले भने।

अपाङ्ग महासङ्घ सुर्खेत प्रदेशकी अध्यक्ष तुल्सी बुढाले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वमा सीमित स्रोत-साधन र संरचनागत विभेदकै कारण प्रभावकारी प्रतिनिधित्व गर्न नसकेको गुनासो गरिन्। “अपाङ्गता मैत्री संरचनाको अभाव र सामाजिक विभेदले सम्मानजनक जीवन यापनमा चुनौती थपेको छ,” उनले भनिन्।

एकल महिला समूह सुर्खेतकी अध्यक्ष ममता ढकालले समाजमा एकल महिलाहरूको समस्या यथावत् रहेको बताइन्। “समाजको दृष्टिकोणमा परिवर्तन नआउँदा हिंसा, अपहेलना र सम्पत्तिमा हकबाट एकल महिलाहरू वञ्चित भइरहेका छन्,” उनले भनिन्।

साथै, उनले आफ्नो संस्था एकल महिला समूह सुर्खेतले एकल महिला, द्वन्द्व पीडित महिला र बालबालिकाको संरक्षण, कानुनी सहायता र सशक्तिकरणका लागि निरन्तर काम गरिरहेको जानकारी गराइन्।

 


कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष प्रकाश सारुले महिला नेतृत्वले भोगेका समस्या र योगदानलाई उजागर गर्दै सामूहिक प्रयासबाट समाधान खोज्नुपर्ने धारणा राखे। “यस किसिमका संवादहरूले चुनौती र समस्यालाई साझा गर्दै समाधानका नयाँ दिशा देखाउने अपेक्षा राखेको छु,” उनले भने। साथै, यस कार्यक्रमले यस क्षेत्रमा भएका समस्या र चुनौतीलाई सबैले साझा मुद्दा बनाएर अघि बढ्न मद्द्त पुग्ने बताए ।
सामाजिक विकासमन्त्री भण्डारीले महिलाको नेतृत्व विकासका लागि सरकारी संरचनाहरूले प्रोत्साहन र क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए। “महिला नेतृत्वको मात्रात्मक सहभागिता मात्र पर्याप्त छैन; गुणात्मक उपलब्धि देखिनु आवश्यक छ,” उनले भने।

महिला हिंसा उन्मूलनका लागि स्थानीय तहदेखि राज्यका उच्च निकायसम्म जिम्मेवारीबोधको खाँचो छ। यसका लागि नीतिगत सहजीकरण, सामाजिक व्यवहारमा परिवर्तन, र नेतृत्व क्षमताको विकास अनिवार्य छ। यस्तो संवादले महिला, दलित, अपाङ्गता भएका व्यक्ति र तेस्रोलिङ्गी समुदायका प्रतिनिधिहरूको साझा अनुभव र चुनौतीलाई उजागर गर्दै समाधानतर्फको ठोस कदम चाल्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

गैरसरकारी संस्था महासङ्घ सुर्खेतको आयोजना गरेको कार्यक्रममा समाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, पिपुल एन् निड, सोसेक नेपाल, महिला सशक्तिकरण मंच, आवाज, स्याक नेपाल सीसीआर कर्णाली एड्सेन, नेपालको सहकार्यमा सुर्खेतको वीरेन्द्ररमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया