कर्णाली प्रदेश रंगशालामा मंसिर २५ गतेदेखि सुरु भएको प्रथम कर्णाली प्रदेश लिग-२०८१ भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगितामा सुर्खेतको काँक्रेविहार क्लबले उत्कृष्ट प्रदर्शन गर्दै जुम्लाको विनायक क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। काँक्रेविहार क्लबको यो ऐतिहासिक जितले कर्णाली प्रदेशमा फुटबलको भविष्यप्रतिको नयाँ आशा र उत्साह थपेको छ।
प्रतियोगिताको पहिलो खेलमा काँक्रेविहार क्लबले २-१ गोलको जित निकालेको थियो। दोस्रो खेलमा जुम्लाले १-० गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा पुर्यायो। निर्णायक पेनाल्टी सटआउटमा काँक्रेविहार क्लबले ०-१ गोल प्रहार गर्दै लिगको उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।
कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालले लिगको सफलताप्रति खुसी व्यक्त गर्दै भने, “कर्णाली प्रदेशमा फुटबलको विकास र प्रवर्द्धनका लागि यो प्रतियोगिता एउटा महत्वपूर्ण कदम हो। नवनिर्मित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिता आयोजना गर्न पाउँदा गर्व लागेको छ। यस्ता सुविधायुक्त पूर्वाधारले कर्णालीको खेलकुद सम्भावनालाई अझ व्यापक बनाउन मद्दत गर्नेछन्।” उहाँले प्रदेश र संघ सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता थप प्रतियोगिताहरू आयोजना गर्ने योजना रहेको पनि बताउनुभयो।
प्रतियोगिताका प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेँले खेलाडीहरूलाई प्रोत्साहन गर्दै भने, “खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेशमा यसको विकास र विस्तार गर्न सरकार प्रतिवद्ध छ। यस्ता प्रतियोगिताले खेलाडीहरूको प्रतिभा उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गर्न मद्दत गर्नेछन्।” मुख्यमन्त्री कडेँको उपस्थिति र उत्साहजनक शब्दले खेलाडीहरूमा थप ऊर्जा थपिदिएको थियो।
कर्णाली प्रदेश लिग विजेता काँक्रेविहार क्लबले अब राष्ट्रपति लिगमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछ। यसले कर्णाली प्रदेशलाई राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई क्षेत्रीय फुटबलको उन्नयनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
खेलकुदले मानवीय मूल्य, अनुशासन, र आपसी एकताको भावना बढाउँछ। कर्णाली प्रदेश लिग-२०८१ जस्ता प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउँदै प्रदेशको गौरव बढाउने आधार तयार गर्नेछन्।
नेपाल कर्म । २८ मंसिर २०८१, शुक्रबार १७:४४