सुर्खेत । स्थानीय तहमा रिक्त कर्णालीमा आठ पदका लागि मतदान सुरु भएको छ । कर्णाली प्रदेशमा नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचनका लागि मतदान शुरु भएको हो ।
निर्वाचन आयोगका सह प्रवक्ता दुर्गा चालिसेले कर्णालीका उपनिर्वाचन हुने सबै स्थानमा निर्धारित समयमै निर्वाचन सुरु भएको जानकारी दिए ।
जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, कालीकोटको तिलागुफा नगरपालिका– ४, जाजरकोटको कुसे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, दुल्लु नगरपालिका–१३ र रुकुमपश्चिमको सानीभेरी गाउँपालिका– ५ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको सह प्रवक्ता चालिसेले जानकारी दिए ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि हुने निर्वाचनमा १६ मतदानस्थलमा २४ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यलय जाजरकोटका जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले जानकारी दिए ।
नलगाडको उपप्रमुखका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । जाजरकोटकै कुसे गाउँपालिका– ७ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र दुई मतदान केन्द्र तोकिएको छ ।
यहाँ वडाध्यक्ष पदका लागि चार जना चुनावी मैदानमा छन् । दैलेखको महाबु गाउँपालिकामा नौ मतदानस्थल र १६ मतदान केन्द्र तोकिएका छन् । महाबुको अध्यक्षका लागि सात जना चुनावी मैदानमा छन् ।
दैलेखकै दुल्लु नगरपालिका– १३ को वडाध्यक्ष पदका लागि दुई मतदानस्थल र चार मतदान केन्द्र तोकिएको छ । दुल्लु– १३ को वडाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
कालीकोटको तिलागुफा नगरपालिका– ४ मा पनि वडाध्यक्ष पदका लागि एक मतदानस्थल छ । यहाँ पनि वडाध्यक्षका लागि ६ उम्मेदवार चुनावी मैदानमा छन् ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा १२ वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए ।
हिमाली जिल्ला हुम्लाकाे सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा वडाध्यक्ष पदका लागि मतदान शुरू भएकाे छ ।
यहाँ दुईवटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिए । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जीसीले मतदान सौहार्दपूर्ण भइरहेकाे बताए । सानीभेरी– ५ को वडाध्यक्षमा चार जना चुनावी प्रतिस्पर्धामा छन् ।
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि भइरहेकाे निर्वाचनमा एक मतदानस्थल र एक मतदान केन्द्र तोकिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । त्रिपुरा सुन्दरी– ५ को वडाध्यक्षका लागि चार उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाल कर्म । १६ मंसिर २०८१, आईतवार ०८:४३