सुर्खेत । बाइसे चौविसे राज्यकालमा चर्चित दुल्लु राज्यको पैदल मार्गलाई कालोपत्रे गर्न लागिएको छ । तत्कालिन खस राजा नागराजको शितकालिन राजधानीसमेत रहेको दुल्लुको चाँदनी चौकदेखि मध्यपहाडी राजमार्ग जोड्ने घियातिदुसम्म सडक कालोपत्रे गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय सुर्खेतले झण्डै चार किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का व्यवस्थापन गरेको छ । २०५६ सालमा दैलेख बजारबाट रावतकोट, घियातिदुहुँदै दुल्लुसम्म ट्र्याक खोलिएको थियो ।
सडक निर्माण गरेको २५ वर्षपछि अन्तत सडक कालोपत्रका लागि निर्माण व्यवसायीले काम थालेको हो । कच्ची सडकका कारण दुल्लु बजार क्षेत्र, पटागिनी, पौवा बजार, बालेश्वरमा वर्षातमा हिलाम्मे र सुख्खा मौसममा धुलोका कारण नागरिकलाई सास्ती खेप्न बाध्य थिए ।
सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर रुपेश केशीकाअनुसार सात करोड ५० लाख लागतमा सडक निर्माणका लागि सम्झौता गरेर काम थालिएको छ ।
शुरुवाती चरणमा कुनै विवाद नदेखिएकाले सडक निर्माणका लागि लाइन छुट्टयाउने काम भइरहेको केसी बताउँछन् । सडकको चौडाइ ५.५ मिटर कालोपत्रे गरिनेछ । मंसिर २०८२ सम्म सडक निर्माण गरिसक्नुपर्नेछ ।
सडक निर्माणको क्रममा कुनै विवाद नरहेको र समस्या भइहाले समाधानका लागि नगरपालिका गम्भीर रहेको दुल्लु नगरपालिका प्रमुख भरत रिजालले जानकारी दिए ।
‘मध्यपहाडी जोड्ने यो सडक कालोपत्रे नहुँदा निकै आलोचना खेपिरहेका थियौं,’ रिजाल भन्छन्, ‘कालोपत्रे पछि नागरिकले झेलिरहेको समस्या समाधान हुनेछ । समयमै सक्न र गुणस्तरिय कामका लागि हामी गम्भीर छौं ।’
सडक डिभिजनले रातिमाटा–सातखम्ब खण्डको १६ सय मिटर सडकको स्तरोन्नति गरिरहेको छ । रातिमाटा पुग्ने उकालो र सातखम्ब भएको क्षेत्रमा आरसीसी ढलान र बाँकी खण्ड ग्राभेल गर्न ठेक्का सम्झौता गरिसकिएको छ । यो खण्डको कुल बजेट २ करोड ८७ लाख छ । छिउडीदेखि विनायकसम्म सडक कालोपत्रे गरिसकिएको छ ।
नेपाल कर्म । १३ मंसिर २०८१, बिहीबार १०:३५