वीरेन्द्रनगरमा बेमौसमी प्याजको परीक्षण सफल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका कृषकहरुको आम्दानी बढाउन बेमौसमी खेतीलाई प्रोत्साहन गरिरहेको छ । मौसमअनुसार खेतीभन्दा बेमौसमी तरकारी उत्पादनबाट कृषकको आयस्तर बढाउन नगरपालिकाले नयाँ कार्यक्रमको शुरुवात गरेको हो ।




नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ मा बेमौसमी प्याज खेतीको शुरुवात गरेको छ । उपत्यकाभित्रका झण्डै २० जना अगुवा कृषकले लगाएको प्याजको रिजल्ट राम्रो देखिएपछि कृषकहरु उत्साहित छन् ।

साउन अन्तिम साता प्याजको विउ राखेर भदौमा रोपिएको थियो । कार्तिक अन्तिम सातासम्म उत्पादित प्याजले राम्रो बजार मूल्य पाएकोमा कृषक खुसी छन् ।

‘सिजनअनुसारकैै खेती गर्ने प्रचलन थियो । यसअघि वर्षात्मा पनि प्याज हुन्छ होला र भनेर लगाएनौं,’ वीरेन्द्रनगर–९ चाँदनी चोकका कृषक कृष्णा विसीले भनिन्, ‘हुँदैन की भनेर थोरै क्षेत्रफलमा लगाइएको प्याजबाट राम्रो आम्दानी भयो । अर्को वर्षबाट धेरै क्षेत्रमा लगाउने योजनामा छु ।’

विसीकाअनुसार बारीबाटै प्याज हरियो प्रति मुठा २० रुपैयाँमा विक्री भएको छ । ‘थोरै प्याज भएकाले हरियोमै धेरैले खोजिरहनु भएको छ,’ विसी भन्छिन्, ‘बेमौसमी प्याजको यति धेरै माग हुने रहेछ । मागअनुसारको उत्पादन गर्न नसक्दा पश्चात भइरहेको छ ।’

वर्षात्मा हुँदैन होला भनेर गरिएको खेतीको माग बढ्दा खेती गर्नमा थप उत्साह कृषकलाई थपेको छ । नगरपालिकाको कृषि शाखाले वडा नम्बर ४, ९, ११, १२ र १३ का कृषक समूहलाई विउ वितरण गरेको थियो ।

पाँच वडाका १० वटा कृषक समूहलाई विउ वितरणदेखि आवश्यक ज्ञान सीप प्रदान गरिएको वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखाका प्रमुख हेमराज केसी बताउँछन् ।

‘उत्पादन हुन्छ की हुँदैन भनेर प्रदर्शनीका रुपमा परीक्षणका लागि कृषकहरुलाई विउ दिएको हो,’ केसी भन्छन्, ‘कृषकले लगाएको प्याजले राम्रो प्रतिफल दिएको पाउँदा आगामी वर्षबाट क्षेत्रफल विस्तार गर्ने योजना तय गरिसकेका छौं ।’

कृषकलाई शाखाले बमौसमी खेतीतर्फ आकर्षित गर्न प्राविधिक ज्ञान सीपसँगै प्लाष्टिक, विषादी, नर्सरीका लागि आवश्यक सामग्री सहयोग गरेको हो । कृषकहरुबाट बेमौसमी प्याज उत्पादन सहज बनेको र बजारको समस्या नभएको प्रतिक्रिया पाएको केसीले जानकारी दिए ।

‘प्याज लगाएका कृषकहरुले हरियो हुँदैसम्म धमाधम विक्री नै गरिसक्नु भएको छ,’ केसी भन्छन्, ‘कृषकहरुले सिजनअनुसारभन्दा आगामी वर्षमा बेमौसमी प्याजमा आवश्यक प्राविधिक सीपको सहयोग र क्षेत्रफल विस्तार गरेर उत्पादन बढाउने सोचमा लाग्नु भएको छ ।’

तपाईको प्रतिक्रिया