सुर्खेतका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

सुर्खेतका चार पालिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ । १३ मंसिरदेखि १८ गतेसम्म वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा खोप अभियान सञ्चालन हुन लागेको हो ।



मंगलबार वीरेन्द्रनगरमा आयोजित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अन्तर्गत पालिकास्तरिय खोप समन्वय समतिको बैठकमा पाँच वर्षदेखि ११ वर्ष उमेर समुहका बालबालिकालाई खोप दिन लागिएको जनाइएको छ ।

स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा इपिक नेपाल÷एपएचआई ३६० को आर्थिक तथा प्राविधिक सहयोगमा कोरोनाविरुद्धको पेडियाट्रिक फाईजर खोप अभियान सञ्चालन हुनेछ ।


अभियान अन्तर्गत चार पालिकामा २४ हजार डोज कोरोनाविरुद्धको खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए । बैठकमा बोल्दै प्रमुख गौतमले कोरोनाको जोखिम नभएपनि फैलन सक्ने जोखिम अझै कायम रहेकाले खोप अभियान सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार खोप अभियान चार पालिकाका प्रत्येक विद्यालयमा सञ्चालन गरिने छ ।

कोभिड १९ को नयाँ भेरिएन्ट जेएन–१ नेपालमा समेत देखा परिसकेको र यस अघि खोप कभरेज कम भएका जिल्ला तथा पालिकामा खोप अभियान संचालन गर्न परिवार कल्याण महाशाखाको समन्वयमा ब्यबस्थापन महाशाखाले फाईजर खोप पठाइसकेको जनाइएको छ ।

जसमा वीरेन्द्रनगरमा १० हजार, गुर्भाकोट र भेरीगंगा पाँच÷पाँच हजार र लेकबेसी नगरपालिकामा चार हजारका दरले खोप आएको छ । खोप अभियान गुर्भाकोट, भेरीगंगा र लेकबेसी नगरपालिकामा मंसिर १३ देखि १५ र वीरेन्द्रनगर नगरपालिकामा मंसिर १५ गते देखि १८ गते सम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया