सुर्खेतमा “समान जलवायु न्यायको लागि वित्तीय सहायता सुनिश्चित गरौं” भन्ने मूल नारासहित र्याली तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। जलवायु परिवर्तनका कारण उत्पन्न समस्याप्रति ध्यानाकर्षण गर्न आयोजित यस कार्यक्रममा स्थानीय र राष्ट्रिय तहमा जलवायु न्यायको मागलाई उजागर गरिएको थियो। कार्यक्रम अजरबैजानको बाकुमा नोभेम्बर ११ देखि २२ सम्म भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-२९) का सन्दर्भमा आयोजना गरिएको थियो। विकासोन्मुख राष्ट्रहरूमाथि जलवायु संकटको प्रत्यक्ष प्रभाव परिरहेको र यसलाई समाधान गर्न विकसित राष्ट्रहरूले अनुदानको सट्टा ऋणको रूपमा सहयोग दिने गरेकोप्रति सहभागीहरूले गम्भीर ध्यानाकर्षण गराए। उनीहरूले जलवायु संकटको क्षतिपूर्ति अनुदानको रूपमा उपलब्ध गराउन र जलवायु न्यायलाई विश्वव्यापी रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रम “रोयम नेपाल”, “एनजिओ फेडरेसन नेपाल”, “पत्रकार महासंघ”, “किर्डिआरसी”, “भायानेट”, “पिओइसी”, “भगवतीमाई युवा परिषद्”, र “नवज्योति युवा सञ्जाल” लगायतका संघसंस्थाहरूको संयोजनमा अस् #डिमाण्डिङ_इक्विटेबल_क्लाइमेट_फाइनान्स अभियानअन्तर्गत सञ्चालन गरिएको थियो। मंगलगडी चोकबाट सुरु भएको र्याली वीरेन्द्र चोक हुँदै यरी चोकमा पुगेको थियो। र्यालीको क्रममा सहभागीहरूले सडक नाटक, सांस्कृतिक नृत्य, र विभिन्न नाराहरू मार्फत जलवायु न्यायको महत्व र आवश्यकतालाई उजागर गरेका थिए।
सहभागीहरूले “जलवायु न्याय सुनिश्चित गर!”, “जलवायु न्यायमा लगानी बढाऊ!”, “जलवायु न्याय सबैका लागि, सधैँका लागि!” जस्ता नाराबाजी गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। आयोजकहरूले यस कार्यक्रमले जलवायु न्यायका लागि जनस्तरमा सन्देश प्रवाह गरेको र यस विषयमा आगामी दिनमा व्यापक बहस र दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल कर्म । २ मंसिर २०८१, आईतवार ०९:४३