कर्णालीमै पशुको वीर्य भण्डारण प्लान्ट निर्माण गरिँदै

सुर्खेत । कर्णाली प्रदेशमै पशुहरुको विर्य भण्डारका लागि तरल पदार्थ नाइट्रोजन उत्पादन प्लान्ट निर्माण गर्न लागिएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने उदेश्यले पशुहरुमा गरिने कृत्रिम गर्भाधान कार्यक्रम प्रभाकारी बनाउन प्लान्ट निर्माण गर्न लागेको हो ।




गाई, भैंसीको नश्ल सुधारको लागि उच्च गुणस्तरको पाडा तथा बाच्छाहरु हुर्काउन एवम् पालन तथा व्यवस्थापन गर्ने लक्ष्य मन्त्रालयको छ । नश्ल सुधारका लागि पशुको विर्य बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको र चाहेको समयमा सहज उपलव्धता नहुने समस्या देखिएपछि पशुपन्छी निर्देशनालय सुर्खेत परिसरमा प्लाट निर्माण गरिँदै छ ।

उच्च जातका पशुहरुको विर्य बाहिरबाट ल्याउने र त्यसलाई सुरक्षित राख्न अति आवश्यक पर्ने तरल नाइट्रोजन उत्पादन कर्णालीमै गर्नेगरी मन्त्रालयले बजेट विनियोजन गरेको थियो ।

प्लान्टले उत्पादन गर्ने विर्य राख्ने तरल पदार्थ उत्पादन गर्नेछ । प्रविधिको विस्तारसँगै गाईभैंसीको नश्ल सुधारको लागि उन्नत राँगो साँढेको जमेको वीर्यबाट कृत्रिम गर्भाधान कार्यलाई विस्तार गर्न प्लान्ट निर्माण गर्न लागिएको मन्त्रालयका सचिव टिकाराम थापाले जानकारी दिए ।

‘प्रशोधित जमेको वीर्यका स्ट्रहरु संरक्षण तथा भण्डारणका लागि नभई नहुने अति आवश्यक वस्तु तरल पदार्थ नाइट्रोजन बाहिरबाट आपूर्ती गर्नुभन्दा यहीँदेखि कृत्रिम गर्भाधान केन्द्रहरुमा वितरण गर्ने लक्ष्य छ,’ सचिव थापाले भने, ‘कर्णालीमा प्लान्टले तरल नाइट्रोजन उत्पादनपछि पशुहरुमा गरिने कृत्रिम गर्भाधान कार्यलाई विस्तारले दुश उत्पादनमा वृद्धि र कृषकको आयस्तर बढ्नेमा विश्वास लिएको छु ।’

दुध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानद्वारा नश्ल सुधार प्रभावकारी मानिन्छ । प्लान्ट स्थापना गर्नु पूर्व मन्त्रालयले प्रभावित क्षेत्रका स्थानीयसँग सार्वजनिक सुनुवाई गरेको छ । वायुमण्डलमा रहेको नाइट्रोजनलाई प्लान्टमार्फत उत्पादन गरिने भएकाले कम ध्वनी र प्रदुषण नहुने बरदान नेपाल प्रा.लि.का मेकानिकल इन्जिनियर श्वेता खाँ गौतमले जानकारी दिइन् ।

प्लान्ट निर्माण गर्न लागिएको क्षेत्रमा खानेपानीको भूमीगत स्रोत नभएकाले असर नहुने बताइन् । स्थानीयले प्लान्टबाट दीर्घकालिन असर नपर्ने भन्दै निर्माणसँगै सञ्चालनमा कुनै अवरोध नगर्ने सहमती गरेका छन् ।

मन्त्रालयले पाँच करोड बजेट विनियोजन गरेर टेण्डर गरिसकेको छ । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गरेर आगामी आर्थिक वर्षबाट तरल नाइट्रोजन उत्पादन गरिनेछ । मन्त्रालयले हाल प्रदेश बाहिरबाट पशुको वीर्य आपूर्ती गरेर कर्णालीका विभिन्न जिल्लाहरुमा वितरण गर्दै आएको छ ।

कर्णालीमा झण्डै दुई सय कृषकहरुले गाई र भैंसीमा कृत्रिम गर्भाधान गराउँदै आएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्रालयका कृषि प्रसार अधिकृत धनबहादुर कठायत, पशु स्वास्थ्य प्राविधिक कमलबहादुर विश्वकर्मा, पशुपन्छी विकास निर्देशनालयका प्रमुख कृष्ण प्रसाद पंगेनी, वीरेन्द्रनगर नगरपालिका पशु सेवा शाखाका यज्ञ पाण्डे, स्थानीयबासीको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया