जीप दुर्घटनाका घाइतेकाे प्रभावकारी उपचार गर्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत । कर्णाली मुख्यमन्त्री यामलाल कँडेले दुर्घटनामा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रदेश अस्पतालमा पुगेर मुख्यमन्त्री कँडेलले घाइतेको अवस्था बुझ्दै उपचारमा कुनै कसरत बाँकी नराख्न निर्देशन दिएका छन् ।



अस्पताल पुग्नु अघि मुख्यमन्त्री कँडेल नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी ल्याइएका घाइतेको अवस्था बुझ्न सुर्खेत विमानस्थल पुगेका थिए । आइतबार दिउँसो जिल्लाको पलाता गाउँपलिका-५, को खिनदेखि थिर्पुतर्फ जाँदै गरेको क १ ज ५६ नम्बरको बोलेरो जिप वडा नम्बर ३ को राडु भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

 दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । घटना लगत्तै नेपाली सेनाको उत्तर पश्चिम एयरबेस सुर्खेतबाट गएको हेलिकप्टरले घाइतेहरुको उद्दार गरेको हो ।

मृत्यु हुनेमा पलाता गाउँपालिका ६ का दसकला शाही, सोही ठाउँका पदम बम, भगवति रोकाया, गणेश शाही, सोही पालिकाका-५, छाया शाही र वडा नम्बर ३ का दमन रोकाया रहेका छन् । उपचारकै क्रममा चालक धनिराम रावतकाे सुर्खेतमा मृत्युु भएको छ ।

तपाईको प्रतिक्रिया