कालिकोट जीप दुर्घटना : गम्भीर घाइतेको हेलिकोप्टरबाट उद्दार

सुर्खेत । कालिकोटमा भएको जीप दुर्घटना गम्भीर घाइतेको हेलिकोप्टरबाट उद्दार गरिएको छ । दुर्घटनामा १३ जना घाइतेमध्य गम्भीर सात जनाको नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको पलाता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायले जानकारी दिए ।



उनकाअनुसार अन्य घाइतेको लिन पुनः हेलिकोप्टर सुर्खेत पुगेर फर्किनेछ । पलाता गाउँपालिकाको वडा नम्बर ६ नेटाबाट यात्रु लिएर थिप्रु जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो जीप राडुनेटामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा हालसम्म ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा पलाता गाउँपालिका–५ खिनका पदम बम, छायाँ शाही, वडा नम्बर ६ का कुसुम कला शाही, भगवति रोकाया, सोही वडा उखाडीका गणेश शाही र वडा नम्बर ३ का दमन रोकाया छन् । दुर्घटनाकाे कारण खुलेकाे छैन् । उकालाे सडक र लाेड बढी भएकाले जीप दुर्घटना भएकाे अनुमान प्रहरीकाे छ ।

तपाईको प्रतिक्रिया