सुर्खेत । प्रहरीको लापर्बाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन सुरु भएको छ । शुक्रबार दैलेखमा दुर्घटना भएको गाडी १५ सिटे भएको र सो गाडीमा ३४ जना यात्रु राख्दा दुर्घटना भएको भन्दै पीडित पक्षले आन्दोलन सुरु गरेको हो ।
उनीहरुले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।
शुक्रबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(१४ रातानाङ्लामा भएको फोर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्टको मृत्यु भएको हाे ।
दुर्घटनामा ३० जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । दैलेखबाट सुर्खेत आउँदै गरेको ०२००ख०९९८ नम्बरको फोर्स गाडी वीरेन्द्ननगर-१४ मा पर्ने दैलेख–सुर्खेत सिमाना नजिकै शुक्रबार दिउँसाे दुर्घटनामा भएकाे हाे । घाइतेहरुमध्य केहीकाे प्रदेश अस्पताल सुर्खेत, नेपालगञ्ज र भारतकाे लखनउमा उपचार भइरहेकाे छ ।
नेपाल कर्म । २४ कार्तिक २०८१, शनिबार १३:२५