सुर्खेत । यसअघि सुर्खेतको बाँगेशीमलबाट शुरु भएर जुम्ला सदरमुकाम गएर टुंगिएको २३२ किलोमिटर कर्णाली राजमार्ग परिवर्तन गरिएको छ । कालिकोटको खुलाल–बाजुरा–सिमकोट–हिल्सा सडक कर्णाली करीडोर र कोहलपुर–छिन्चु– (वीरेन्द्रनगर) सुर्खेत रत्न राजमार्ग कायम थियो । पाँच वर्ष अघि सडकहरुको सूची पुनः वर्गिकरण गर्दा कर्णाली करीडोर र रत्न राजमार्ग हटाएर कर्णाली राजमार्ग कायम गरिएको हो ।
अब कर्णाली राजमार्गको शुरुवात विन्दु नेपाल भारत सीमाना जमुनाहबाट शुरु भएर नेपाल–चीन सीमाना हिल्सा पुगेर सकिनेछ । बाँकेको जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत, दैलेख–कालिकोट (खुुलालु)–बाजुरा, सिमकोट–हिल्सा ५३८ किलोमिटर कायम गरिएको छ ।
जुम्ला सदरमुकाम जोडिएको कर्णाली राजमार्ग हटाएर अब सुर्खेत–तल्लो डुंगेश्वर, सातखम्ब–दुल्लु पिपलकोट, खुलालु–मान्म–नाग्म–जुम्ला सडक कायम गरिएको छ । यो सडकको दुरी १६८ किलोमिटर छ ।
कर्णाली राजमार्ग राष्ट्रिय राजमार्ग ५८ र भेरी करीडोर ५७ नम्बरमा छ । छिन्चु–जाजरकोट–दुनै–मरिम ३१७ किलोमिटर सडकलाई भेरी करीडोर बनाइएको छ ।
‘क’ आधारमा राखिएका यी दुवै सडक कर्णाली प्रदेशका लागि रणनीतिक महत्व भएका सडक हुन् । दुवै सडकले सिधा चीन–भारत जोड्छन् । चीनसँग जोडिने तेस्रो सडक मुगुको नाक्चेनाग्ला हो ।
३०२ किलोमिटर सडक सुर्खेतबाट शुरु भएर दैलेख, महावुलेक–गाल्जे, नाग्म–गमगढीहुँदै चाक्चेनाग्ला जोडिन्छ । सल्यानको थारमारे सुरुवाती विन्दु मानिएको रारा राजमार्ग कायम गरिएको छ । २६३ किलोमिटर दुरी रहेको सडक थारमारे–चौरजहारी, जाजरकोट खलंगा–जुम्ला कुडारी हुँदै मुगुको रारा तालसम्म जोडिनेछ ।
मुगुको छायल बजारदेखि अगाडीसम्म ट्र्याक खोलिएको यो सडकको चीन सीमानासम्म जोड्ने सडक अधुरै छ । लुम्बिनी प्रदेशमा १२ सडक प्रदेश लोकमार्ग र तीन सडक स्थानीय सडक कायम गरिएको छ । कर्णालीमा तीन सडक प्रदेश, एक स्थानीय र सदूरपश्चिम प्रदेशमा आठ सडक प्रदेश लोकमार्ग बनाइएको छ ।
नेपाल कर्म । २३ कार्तिक २०८१, शुक्रबार ०७:१२