सुर्खेत । नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी एमाले निकट नेपाल निजामति कर्मचारी संगठनमा फर्किएका छन् । संगठनको कर्णाली प्रदेश कार्य समितिले आयोजना गरेको कर्णाली नेगो स्मारिका २०८१ विमोचन कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।
निजामति कर्मचारी संगठनमा फर्किने कर्मचारीहरुमा केन्द्रीय उपाध्यक्ष, कर्णाली प्रदेश अध्यक्ष, सचिव, सुर्खेत, दैलेख, हुम्ला, डोल्पाका अध्यक्षसहित ४२ जना रहेका छन् । समाहित हुने संगठकहरुकोतर्फबाट बोल्दै निवर्तमान कर्णाली प्रदेश अध्यक्ष बुढाले वाध्यता र परिस्थितिले फरक संगठन बनाएको भएपनि मन भने सधै यतै भएकोले आफ्ना सहयात्रीहरुसँग सँगै काम गर्नका लागि समाहित भएको बताए ।
उनले पेशागत हितका लागि नेपाल निजामती कर्मचारी संगठन बाहेक कुनै विकल्प नभएको उल्लेख गरे । संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाले कर्णाली नेगो स्मारिकाले इतिहासलाई जीवन्त बनाएको तथा यसका अन्तरवस्तुले हाम्रो जीवन र पेशालाई थप समृद्ध बनाउने धारणा राखे ।
संसदमा दर्ता भएको संघीय निजामती सेवा ऐनमा भएका प्रावधान, गर्नेपर्ने सुधार र संगठनले यसका लागि हालसम्म गरेको र अव गर्ने पहलकदमीका साथै सांगठनिक गतिविधि र प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर संगठनलाई अझ बढी प्रभावकारी र लोकप्रिय गराउनुपर्ने बताए । धैर्यता, इमान्दारिता र लगनशीलताका आधारमा कसैलाई विभेद नगरी जिम्मेवारी प्रदान गरिएको र आगामी दिनमा समेत यसलाई संगठनले आत्मसात गर्ने बताए ।
नेपाल कर्म । १४ कार्तिक २०८१, बुधबार १८:५३