संगठन विस्तारसँगै निर्वाचनको तयारीमा लाग्न मुख्यमन्त्रीको निर्देशन

जाजरकोट, ६ कार्तिक । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न मुख्यमन्त्री यामलाल कँडेलले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । जाजरकोटको नलगाड नगरपालिकास्थित दल्लीमा आयोजित अगुवाकार्यकर्ता भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कँडेलले आसन्न निर्वाचनमा एमालेका उम्मेद्वारले जित्नेगरी लाग्न निर्देशन दिएका हुन् । संगठन विस्तारको कामलाई निरन्तरतासँगै नलगाड नगरपालिकाको उपप्रमुखको निर्वाचनमा एमालेको वर्चश्व कायम गर्नेगरी लाग्नु नेता कार्यकर्तालाई उनले निर्देशित गरे ।



‘राजनीति गर्नेले स्वार्थको लागि मात्र गरे पार्टीको संगठन घट्दै जान्छ । राजनीतिसँगै शिक्षा, स्वास्थ्य जस्ता मुद्दामा विशेष महत्व दिनुहोस्, यसले पार्टीको लागि मात्र नभएर व्यक्तिगत जीवनका लागि पनि महत्वपूणर् हुन्छ ।’ नागरिकमा अहिलेको व्यवस्थामाथि केही गर्नै सकेनन् भन्ने भाष्य स्थापित गर्ने समूह हावी भएकाले एमालले राम्रा कामको सकरात्मक सन्देश गाउँतहसम्म पुर्‍याउनु पर्ने कँडेल बताए । ‘वर्षौंको संघर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो,’ कँडेलले थपे, ‘विकास नै भएन भनेर एकथरीले गलत प्रचार गरिरहेकाले त्यो रोक्ने जिम्मेवारी एमालेजनको भएकाले गलतका विरुद्ध भण्डाफोर गर्नुहोस् ।’

नगलगाड नगर कमिटीको आयोजित अगुवाकार्यकर्ता भेला तथा प्रशिक्षणमा बारेकोट गाउँपालिकाका अध्यक्ष विरबहादुर गिरी, भेरि नगरपालिका प्रमुख सिपीघर्तीसहित विभिन्न अगुवा कार्यकर्ताहरूको उपस्थिति थियो । पार्टीको कार्यक्रमलाई सम्बोन्धन गर्नु पूर्व मुख्यमन्त्री कँडेललाई नलगाड नगर प्रमुख डम्बरबहादुर रावतले नगरका समग्र समस्या बारे जानकारी गराएका थिए । भुकम्पपछि अस्थायी टहरामा बसिरहेका पीडितहरुलाई स्थायी आवास बनाउने कामले गति नलिएको भन्दै त्यसमा प्रदेश सरकारले पहल गर्न प्रमुख रावतले आग्रह गरे ।

मुख्यगरी नलगाड जलविद्युत् परियोजनालाई तत्काल अघि बढाउनु पर्ने, विभिन्न सडक र पुलको विकासमा प्रदेश सरकारको साथ खोजेको उनले बताए । मुख्यमन्त्री कँडेलले कतिपय विषय संघ सरकारसँग जोडिएकाले पहलका लागि समन्वय गरिरहेको बताए । तीन तहकै समन्वयमा सबैले काम गरे नागरिकमा देखिएको निराशा विस्तारै हट्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया