कर्णालीमा पहिलो निजमति दिवस : नागरिकमुखी सेवा वितरण अझ प्रभावकारी हुने मुख्यमन्त्रीको विश्वास

सुर्खेत । कर्णाली पदेशको पहिलो प्रदेश निजामती सेवा दिवसमा मुख्यमन्त्री यामलाल कँडेलले शुभकामना सन्देश जारी गरेका छन् । निजामति कर्मचारी संयन्त्रलाई थप सुदृढ बनाउन नयाँ थालनी गरेको प्रदेश निजामती सेवा ऐनले नागरिकमुखी सेवा वितरण अझ प्रभावकारी हुने मुख्यमन्त्री कँडेलको विश्वास व्यक्त गरेका हुन् ।



२९ असोज २०८० मा कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश निजामती सेवा दिवस ऐन जारी गरेकाले प्रदेश निजामती दिवस मनाउन लागिएको हो । ‘यो दिवस एक महत्वपूर्ण दिनको रुपमा जिवन्त रहिरहने मलाई विश्वास छ,’ मुख्यमन्त्री कँडेलले भनेका छन्, ‘राज्यको आधारभूत कर्तव्य नागरिकमुखी सेवा वितरणमार्फत जनताको मन जित्नु हो । त्यसकालागि निजामती सेवाको प्रभावकारिता महत्वपूर्ण हुन्छ ।’

निजामती सेवा भनेको सरकारले जनतासँगको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने सेतु रहेको भन्दै उनले यस सेवाको प्रभावकारिताले राज्यका नीतिगत निर्णयहरूलाई व्यवहारमा लागू गर्न र प्रत्यक्ष रुपमा जनतासँग सरकारको सम्बन्ध स्थापित सहज हुनेमा विश्वास व्यक्त गरेका छन् ।

सार्वजनिक सेवालाई अझ प्रभावकारी,जनमुखी र पारदर्शी बनाउँदैं कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनका लागि यो दिवसले महत्वपूर्ण प्रेरणा दिने मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

कर्णालीको दुर्गम भूगोल र विविध चुनौतीहरूको बाबजुद पनि निजामती कर्मचारीहरूले सेवा प्रवाहमा सुधार ल्याउन निरन्तर खटिएको प्रशंसा गर्दै मुख्यमन्त्री कँडेलले कर्मचारीहरूको मेहनत र समर्पणको कदर गर्दे आगामी दिनहरुमा सार्वजनिक सेवा प्रवाहमा थप सुधारसहित नागरिकको सेवामा समर्पित भई कुशलता र इमानदारीपूर्वक कार्य गर्न यस दिवसले प्रेरित गर्ने अपेक्षा लिएका छन् ।

कर्मचारीको क्षमता अभिवृद्धि र उचित प्रोत्साहनको व्यवस्था गर्दै सशक्त सेवा प्रवाहमा सहयोग र उचित वातावरण निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको उनले शुभकामना सन्देशमा भनेका छन् ।

सेवाको वरिपरि जनता नभई जनताको वरिपरि सेवा पु¥याउन गतिशिल र संघीयता अनुरूपको निजामती सेवा नै अहिलेको आवश्यकता रहेको भन्दै जारी सन्देशमा भनिएको छ, ‘सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी, जनमुखी र पारदर्शी बनाउन थप प्रेरणा मिलोस्, निजामती कर्मचारीलाई शुभकामना व्यक्त गर्दछु।’

तपाईको प्रतिक्रिया