सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको–६, झिङनी बजारमा अमृता सुनारले औषधी व्यवस्था विभागबाट अनुमति नलिई मेडिकल सञ्चालन गरिरहेको पाइएको छ ।
उनीले लगभग एक वर्षदेखि कानुनी प्रक्रिया पूरा नगरी औषधि बिक्री गरिरहेको र दर्ता नगरी नै औषधिहरू बेचिरहेको स्थानीयले आरोप लगाएका छन् । स्थानीयका अनुसार सुनारले औषधिहरू दाल चामल जस्तो बेच्दै आएकी छिन् । प्रशासनले यस विषयमा ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
एक वर्षअघि नै नगरपालिकाले सुनारको मेडिकल सञ्चालन अवैधानिक रहेको जानकारी पाएको भए पनि कुनै कारबाही अघि नबढाएको स्थानीयको भनाइ छ । ‘गत वर्ष नै नगरपालिकाले अवैधानिक रूपमा मेडिकल सञ्चालन गरेको थाहा पाएको थियो ।’ एक स्थानीयले भने ‘तर किन हो खै नगरपालिकाले केही प्रक्रिया अगाडी बढाएन, यस पटक अनुगमनमा आउँदा कुनै कागजात फेला नपार्दा सात दिनभित्र नगरपालिका आउन आग्रह गरेको छ रे ।’
भेरीगंगा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अर्जुन चपाईले सुनारले एक वर्षदेखि कानुनी प्रक्रिया नपुगेको स्वीकार गर्दै उनलाई सात दिनभित्र प्यान र डीडीएमा दर्ता गर्न निर्देशन दिएका छन्। चपाईले यदि समयभित्र दर्ता नगरेमा प्रशासनलाई पत्र लेखेर कारबाहीको प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् । उनले अवैधानिक मेडिकललाई आफूहरूले सचेत बनाउने काम गरेको बताए ।
उनी मात्रै होइन सुर्खेतका अधिकांश पसल व्यवसायहरू दर्ता नै नगरी चलाउने गरेका छन् । भर्खर सिकेका र आवश्यकभन्दा बढी मात्रा औषधि दिने र तत्कालका लागि निको भएको जस्तो देखाउने औषधि बिक्रेताका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्वास्थ्यकर्मीको भनाइ छ ।
मापदण्ड पूरा नगर्ने र अवैधानिक तवरले सञ्चालन गरिरहेका पसलहरूले अनुगमन टोली पुगेको सूचना पाउने बित्तिकै सटर लगाएर भाग्ने गरेको समेत पाइएको छ ।
नेपाल कर्म । १९ आश्विन २०८१, शनिबार १८:१६