सुर्खेत । यो वर्षको वडा दशैं बिहीबारदेखि शुरु भएको छ । हिन्दुहरुले दुई ठूला पर्वको आगमनसँगै रोजगारी गर्न, पढ्न र भविष्यको खोजीका लागि गाउँ छाडेकाहरु घर फर्कन थालेका छन् ।
अन्य समय सुनसान हुने ग्रामिण क्षेत्र चडपर्व भित्रिएसँगै शहर सुनासान बनाएर दिनहु जन्मभूमी फर्किनकाे लर्काे छ । दैनिक सुर्खेत बसपार्कमा कर्णालीका दैलेख, कालिकोट, हुम्ला, जाजरकोट, सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, जुम्ला र सुर्खेत जिल्लाका विभिन्न स्थान तथा सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम र तराईका जिल्लामा जानको भीड हुने गरेको छ ।
यात्रुको चाप बढी भएपछि सडक दुर्घटनाको जोखिम उत्तिकै छ । राष्ट्रिय राजमार्ग र सहायक मार्गहुँदै नागरिकहरु गाउँ फर्केन थालेपछि सडक डिभिजन कार्यालयहरुले सडक स्तरोन्नतिमा जुटिरहेका छन् ।

सडक सञ्जाल पुगेका क्षेत्रमा स्थानीय तहहरुले ग्रामिण सडक सुधार गरिरहेका छन् । तत्कालै वर्षात नभए कर्णालीका सबै जिल्ला र जिल्ला भित्रका सहायक सडक भएर गाउँ पुग्न कुनै समस्या छैन् ।
पानी परिहाले पहिरो गएर सडक अवरुद्ध भएमा सबै राजमार्गको जोखिमग्रस्त क्षेत्रमा तयारी अवस्थामा स्काभेटर राखिएको छ । जोखिम भएका क्षेत्रमा सडक चौडा बनाउने र खाल्डा भएका ठाउँमा पुर्न थालिएको छ ।
कर्णाली राजमार्गको दही खोला, गगने खोला, एस मोड, खुलालु क्षेत्रको पहिरो हटाएर आवागमन सहज बनाइएको छ । कर्णाली करिडोर, भेरी करीडोर र राप्ती करीडोर यात्रुहरुलाई होल्ड नगर्नेगरी सडक मर्मतको काम भइरहेको छ ।

सुर्खेत–दैलेख, सुर्खेत–दहीखोला
कर्णाली राजमार्गको बाँगेशीमल– दैलेखको दहीखोला खण्ड १३२ किलोमिटर सडक डिभिजन सुर्खेतले हेर्दै आएको छ । सुर्खेत–दैलेख ६८ किलोमिटर, छिन्चु–जाजरकोट छेडाबजार ७० किलोमिटर, सुर्खेत–हर्रे ४० किलोमिटर, माथिल्लो डुंगेश्वर–विनायक–दुल्लु, तल्लो डुंगेश्वर–दुल्लु र तल्लो डुंगेश्वर–सियाकोट सडक डिभिजनकै क्षेत्राधिकाभित्र पर्छन ।
दही खोला–गगने खोला र खुलालु क्षेत्रमा वर्षातमा निकै सास्ती दिएको सडक खण्ड हो । दही खोलामा बाढीले पक्की पुल नै बगाइसकेको छ । नागरिकहरुलाई सहज आवतजातका लागि दही खोलासम्म कुनै समस्या नरहेको सडक डिभिजन सुर्खेतका प्रमुख खुम भण्डारीले जानकारी दिए । विभिन्न स्थानमा स्काभेटर तयारी अवस्थामा राखिएको छ ।
दही खोला–नाग्म–जुम्ला, नाग्म मुगु
दैलेखको सिमाना दहीखोलादेखि जुम्ला सदरमुकाम खलंगासम्मको दुरी १०५ किलोमिटर छ । वर्खाको बेला सबैभन्दा धेरै सास्ती दिएको गगने खोला, एस मोड, खुलालु यहीँ सडकभित्र पर्छ । सडक डिभिजन जुम्लाको क्षेत्राधिकार रहेको यो सडक अहिले पूर्ण रुपमा सञ्चालनमा छ ।

साँघुरो केही क्षेत्रमा एकतर्फी बाहेक प्रायः ठाउँमा दशैंमा कुनै समस्या नभएको सडक डिभिजन जुम्लाले जानकारी दिएको छ । कालिकोटको नाग्मबाट जुम्लाको पश्चिम भाग सिँजा उपत्यकाहुँदै मुगुको सदरमुकाम गमगढीसम्मको ९३ किलोमिटर सञ्चालनमै छ ।
जुम्ला जोड्ने सडक कतै कच्ची र कतै कालोपत्रे छ । नाग्म–गमगढी सडक खण्डको जुम्लामा झण्डै चार किलोमिटर बाहेक सबै सडक कच्ची छ । गमगढीबाटै मुगुको सोरुकोट र गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जाने सडक सञ्चालनमा छ ।
मुगुमकार्मारोङ गाउँपालिका जान गमगढीबाट छायल बजारसम्म जीपमा पुग्नमा कठिन छैन् । कर्णाली करीडोर भएर मुगुकै खत्याड पुग्नमा समस्या छैन् ।
खुलालु–कोल्टी–सलिसल्ला सिमकोट–हिल्सा
कर्णाली राजमार्गमा पर्ने कालिकोटको खुलालुदेखि हुम्लामा पर्ने नेपाल चीन सिमानासम्मको सडकको दुरी २६९ किलोमिटर हो । यो सडकमा १२३ किलोमिटर अहिले कर्णाली करीडोर दक्षिण खण्ड (खुलालु–सल्लिसल्ला) सडक योजना कोल्टी बाजुराले हर्दै आएको छ ।
नेपालगञ्जदेखि सिँधा र सुर्खेतबाट सवारीहरु बाजुराको पिलिचौरसम्म पुगिरहेका छन् । पिलिचौर खोला बढेकाले साना सवारी आवागनमा अवरोह हुनेे गरेकाे छ । तर खोला तरेपछि साना जीपबाट सल्लीसल्लाहुँदै खार्पुसम्म पुग्न सकिन्छ ।
३३ किलोमिटर सडकमा ग्राभेल राख्नेगरी काम भइरहेको कर्णाली करीडोर दक्षिण खण्ड (खुलालु–सल्लिसल्ला) सडक योजना कोल्टी बाजुराका सव–ईन्जिनियर अन्तराज शाहीले जानकारी दिए ।
‘कतिपय ठाउँमा सडक चौडाका लागि काम जारी छ,’ शाहीले भने, ‘दशैं शुरु भइसकेकाले निर्माण व्यवसायीलाई सवारी अवरोध हुनेगरी काम नगर्न भनेका छौं । कुनै ठाउँमा वर्षात् भएर वा सुख्खा पहिरो झरेमा हटाउन भनिसकेका छौं ।’
सल्लीसल्ला–सिमकोट हिल्सा सडक १४६ किलोमिटर कर्णाली करीडोर उत्तर खण्ड (हिल्सा–सिमकोट–सल्लिसल्ला) सडक योजना हुम्लाको क्षेत्राधिकार हो । यो सडकको सल्लीसल्ला–खार्पुनाथसम्म बोलेरो जीप सञ्चालन भइरहेको कर्णाली करीडोर उत्तर खण्ड (हिल्सा–सिमकोट–सल्लिसल्ला) सडक योजना हुम्लाका प्रमुख ईन्जिनियर बेलबहादुर नेपाली बताउँछन् ।
खार्पुनाथ खोला ठूलो रहेकाले वारीबाट १५ किलोमिटर दुरीमा रहेको सिमकोट पुग्न अर्को सवारी र सिमकोटबाट उत्तरी क्षेत्र जान बस नै सञ्चालन रहेको उनको भनाई छ ।
जाजरकोट र डोल्पा
डोल्पा जोड्ने सडक खण्डकै जाजरकोटको छेडा बजारदेखि बोहोरा गाउँ ३७ किलोमिटर, सल्यानको थारमारे–चौरजहारी–खलंगा–पाँचकटिया जाजरकोट ३०, पुष्पलाल मध्यपहाडी राजमार्गको रुकुम पश्चिम र रुकुम पूर्वको सिमानादेखि चौरजहारी ६० र सल्लीबजार–नेटा चौरजहारी झण्डै ४० मध्य सात किलोमिटर सडक डिभिजन चौरजहारी रुकुम पश्चिमको हेर्दै आएको छ ।
यीमध्य थारमारे–चौरजहारी–खलंगा–पाँचकटिया जाजरकोट र सल्लीबजार–नेटा चौरजहारी सडक निर्माणकै क्रममा छ । ‘पहिरो खसेको क्षेत्रमा तत्कालै पहिरो पन्छाएका कारण यी सडकहरुमा कुनै अवरोध छैन,’ प्रमुख तेजस्वी शर्माले भने, ‘दशैंमा सवारी चाप बढेसँगै यात्रुको बढी ओहोरदोहोर हुने भएकाले कुनै अवरोध आएमा आधादेखि एक घण्टामा सडक सुचारु गर्नेगरी प्राविधिकहरु तयारी अवस्थामा राखिएको छ ।’

यता, डोल्पा सदरमुकाम दुनै जोड्ने जाजरकोटको बोहोरा गाउँबाट ११७ किलोमिटर सडक भेरी कोरिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे धो) सडक योजना डोल्पाको क्षेत्राधिकारको सडक हो ।
जाजकोटको बोहोरा गाउँदेखि डोल्पाको तल्लुबगर ५६ किलोमिटर सडकमा सहज सवारी आवागन भइरहेको योजना कार्यालय डोल्पाका सिनियर डिभिजनल ईन्जिनियर सुनिल रञ्जितकार बताउँछन् ।
बोहोरादेखि नलगाडसम्म सात किलोमिटर सडक कालोपत्रे गरिसकिएको र तल्लुसम्म यो वर्षमा सक्ने लक्ष्य छ । तल्लुबगरदेखि दुनैसम्म पुग्न साना खोलाका कारण अवरोह हुने गरेको छ । तर ठूलो वर्षात् नभए काठमाडौं, नेपालगञ्ज र सुर्खेतबाट सिँधै बसहरु दुनै पुग्ने गरेका छन् ।
साना खोलाहरुमा विस्तारै पानीको बहाव घट्दै गइरहेकाले दशैंमा घर फर्किने नागरिकहरुलाई सिँधै दुनै पुग्न समस्या नरहेको रञ्जितकारले जनाए । सडक निर्माणकै क्रममा रहेकाले कुनै अवरोध भए निर्माण व्यवसायीको समन्वयमा कार्यालयका प्राविधिकहरुले तक्कालै सडक खुलाउने गरेको उनको भनाई छ ।
तुलसीपुर–मुसीकोट र तुलसीपुर–बोटेचौर
राप्ती राजमार्गको १२३ किलोमिटर दुरीले दाङको अमिलियाबाट शुरु भएर रुकुम पश्चिमको खोलापास पर्छ । खोलापासदेखि सदरमुकाम मुसीकोटसम्मको ३१ किलोमिटर सडक डिभिजन चौरजहारी रुकुम पश्चिमको क्षेत्राधिकार हो ।
सल्यान, रुकुम पश्चिम र रुकुम पूर्व जाने नागरिकहरु यहीँ सडक भएर घर फर्किरहेका छन् । वर्षात् सडक भत्काएको क्षेत्रमा सडक डिभिजन घोराहीले पहिरो पन्छाएर सडक चौडा गर्ने र खाल्डाखुल्डी भएको ठाउँमा मर्मतका लागि २ करोडको ठेक्का लगाएर काम गरिरहेको सडक डिभिजन घोराही दाङका इन्जिनियर दिपेन्द्रकुमार साहले बताए ।
घोराही मातहतकै तुलसीपुर–कालिमाटी–काल्चे–बोटेचौर ८८ किलोमिटर सडक निमाणकै चरणमा रहेकाले साँघुरो क्षेत्रमा सडक चौडा गर्ने काम सकिएको ईन्जिनियर शाह बताउँछन् । यो खण्डको चार किलोमिटर मात्रै कालोपत्रे बाँकी रहेकाले सवारी आवागमन कुनै अवरोह नरहेको सडक डिभिजन घोराहीले जनाएको छ ।
पुष्पलाल र मदन भण्डारी राजमार्ग
पाँचथरको चियो भन्झ्याङ्गबाट शुरु भएर बैतडीको झुलाघाट पुगेर टुंगिने राजमार्ग हो पुष्पलाल मध्यपहाडी । कर्णालीमा पुग्दा यो सडक रुकुम पश्चिमको गोर्खानी, जाजरकोटहुँदै दैलेख भएर अछाम प्रवेश गर्छ ।
यो सडक रुकुम पश्चिममा ६०, जाजरकोटमा ८३ र दैलेखमा १२२ किलोमिटर पर्छ । जाजरकोटको मन्ताभीर बाहेक अन्य खण्डको सडकमा सहज रुपमा सवारी आवागमन भइरहेका छन् ।
कडा चट्टानका कारण मन्ता भीर छिचोल्न सकिएको छैन् । भीरमा सडक नबन्दा जाजरकोट खलंगाबाट जाजरकोटका पश्चिमका शिवालय। जुनीचाँदे गाउँपालिका, छेडागाड नगरपालिकाका नागरिकहरुले छेडाबजारहुँदै थलह निस्कीएर लामो दुरीको यात्रा तय गर्नुपर्ने बाध्यता छ ।
यहीँ सडकको भेरी नदीमाथि पुल निर्माण नहुँदा रिम्ना भएर मुसीकोट पुग्नुपर्छ । बाँकी क्षेत्रमा निर्वाध रुपमा सवारीहरु चलिरहेको र सडकमा कुनै समस्या नरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयले जनाएको छ ।
सुर्खेतको रैकरबाट शुरु हुने मदन भण्डारी राजमार्ग लगामहुँदै डोटी प्रवेश गर्छ । भेडावारी–धुलियाविट, बड्डीचौर–खम्बगाडे, खम्बगाडे–चत्तुरे–दुलालथाई–विद्यापुर, विद्यापुर–गुटु–लगाममध्य धेरै ठाउँमा सडक निर्माणकै क्रममा छ । हाल नियमित सवारी सञ्चालनमा भइरहेकाले दशैंमा सहजै ओहोरदोहोर गर्न सकिने राजमार्गमध्यको यो पनि हो ।
चिसापानी–कुइने–बावियाचौर
सुदूरपश्चिम प्रदेशबाट सुर्खेत पश्चिमको बावियाचौर भए कर्णाली भित्रने तेस्रो नाका हो चिसापानी–कुईन । यो सडकले कैलालीको मोहन्याल गाउँपालिका, सुर्खेतको पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र अछामको जोड्छ ।
बावियाचौरबाट बड्डीचौर भएर वीरेन्द्रनगर कर्णालीका माथिल्ला जाने छोटो सडकमा पर्छ । दैनिक चिसापानीबाट बावियाचौरहँदै जंगलाघाट भएर अछामका नागरिकहरु ओहोरदोहोर गरिरहेका छन् । चिसापानी–कुईने–बावियाचौरको दुरी करिव २७ किलोमटर छ ।
१२ किलोमिटर कैलाली क्षेत्रको सडक कच्ची रहेकाले चाडपर्वमा थप दुर्घटनाको जोखिम बढ्ने भन्दै चेकजाँचमा कडाइ गरिएको ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंह बताउँछन् ।
‘कुईबाट चिसापानी आउने सडक कच्ची र कर्णाली किनाराको सडक भएकाले जोखिम बढी छ,’ सिंह भन्छन्, ‘दैनिक फोर्स गाडीहरु नियमित आवतजावत गरिरहेकाले हामीले निगरानी बढाएका छौं ।’
नागरिकलाई सुरक्षित गन्तव्य पुर्याउन ठाउँ–ठाउँमा चेकिङ
कर्णालीका प्रायः राजमार्ग जिर्ण छन् । नदी किनाराका खोच भएर नागरिकहरु गन्तव्य पुग्नुपर्ने सडक छन् । शहर बस्नेहरु दशैं शुरु भएपछि धमाधम घर फर्किरहेका छन् । अन्य समयको तुलनामा चाडवाडमा यात्रुको बढी चाप हुने भएको दुर्घटनाको जोखिम उस्तै छ ।
प्रदेशका १० वटै जिल्लाका गाउँहरु फर्किनेहरुको लर्को लागेपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । सडक सुरक्षालाई कडाइ र व्यवस्थित बताउन राजमार्ग र सहायक मार्गमा १० जिल्लाका १६२ वटा स्थानमा नियमित, विशेष र आकस्मिक चेकिङको व्यवस्था मिलाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए ।
चेकिङ स्थलमा २९० जना ट्राफिक र १९९ जना प्रहरी खटाइएरको र ८५ ठाउँमा ट्राफिकसहितको चेकिङ गरिरहेको उनले बताए । यात्रुहरूको सहजताका लागि पर्व लक्षित ६० वटा यात्रु सहायता र नागरिक सहायता कक्षहरू स्थापना गरेर १७२ जना प्रहरीलाई खटाइएको छ ।
‘गाउँ फर्किनेहरुलाई तिव्र गतिमा सवारी चलाएर पुनः सवारी फर्किदा यस्तो बेला दुर्घटनाको जोखिम बढ्छ,’ प्रहरी नायब महानिरीक्षक भट्टराईले भने, ‘नागरिकलाई सुरक्षित गन्तव्य पुर्याउन सात स्थानमा गाडी, सवारी चालक र यात्रुहरूले आराम गर्नका लागि ‘रि–फ्रेस’ सेन्टर सञ्चालनमा ल्याएको छौं ।’ सात स्थानमा रहेका यात्रु विश्राम कक्षमा लामो दुरीका सवारीहरु कम्तिमा २० मिनेट रोकिनुपर्नेछ ।

सुशील खड्का । १९ आश्विन २०८१, शनिबार ०९:०४