हिरासतमै अनसन बसेपछि दलित अभियान्ता सुनार अस्पताल भर्ना

सुर्खेत । दलितका लागि दलित आन्दोलन नेपालका अभियान्ता खगेन्द्र सुनार अस्पताल भर्ना भएका छन् । असार १ गते कर्णाली प्रदेश सभा अगाडी प्रहरी र दलित समुदायविच भएको झडपका क्रममा पक्राउ परेका सुनारको स्वास्थ्य अवस्था विग्रिएपछि अस्पताल भर्ना गरिएको हो ।
याे पनि पढ्नुहाेस् : बजेटमा दलित समुदायलाइ नसमेटेकाे भन्दै प्रदेश सभा अघि लाठी लिएर प्रदर्शन



दलित समुदायका लागि कर्णाली सरकारले नीति तथा कार्यक्रम र बजेटमा सम्बोन्धन नगरेको भन्दै बजेट भाषणको दिन प्रदेश सभा अघि धर्नामा बसेका थिए । बजेटमा दलितका लागि कुनै लक्षित कार्यक्रम सार्वजनिक नभएपछि आक्रोशित दलित समुदाय र प्रहरीबिच झडप भएको थियो ।

याे पनि पढ्नुहाेस् : दलित समुदाय र प्रहरीविच झडप, १० प्रहरी घाइते

झडपका क्रममा अभियान्ता सुनारसहित सात जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सुनारले जिल्ला प्रहरी कार्यालयको हिरासतमै अनसनमा बसेपछि स्वास्थ्य अवस्था विग्रिँदा उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको छ ।

‘उहाँले हिरासतमा पानी नपिएर अनसन बस्दा स्वास्थ्यमा समस्या देखिएको छ,’ दलितका लागि दलित आन्दोलन नेपालका एक अभियान्ताले भने, ‘स्वास्थ्य अवस्था विग्रदै गएपछि प्रहरीले नै उपचारका लागि प्रदेश अस्पताल भर्ना गरेको रहेछ । अहिले हामीले पनि उहाँको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छौं ।’

यता प्रहरीले अभियान्ता सुनारसहित पक्राउ परेपछि हुन सक्ने सम्भावित घटना रोक्न प्रहरी कार्यालय आसपासमा सुरक्षा व्यवस्था कडा पारेको छ । शनिवार सुनारसहितको अवस्था बुझ्न गएका थप चार जनालाई प्रहरीले पक्राउ गरेको आरोप नेपालले लगाएको छ । हाल प्रहरी हिरासतमा ११ जना रहेको दलितका लागि दलित आन्दोलन नेपालको भनाई छ।

तपाईको प्रतिक्रिया