मध्य सुर्खेतको पूर्व–पश्चिम जोड्ने लाइफलाइन सडक

मदन भण्डारी राजमार्गको गति बढ्दा प्रदेशको कछुवा चाल

सुर्खेत । सुर्खेत जिल्लाको भू वनावट उत्तर-दक्षिणमा अग्ला डाडा विचमा कतै समथर टार र कतै सम्म उपत्यका छन् । प्रदेशका दश वटै जिल्लाका नागरिकहरुको बसोबासका लागि पछिल्ला वर्ष सुर्खेत रोजाईँको जिल्ला हो । बढ्दो जनघनत्वले यहाँका नागरिकहरुले सडक सुविधाबाट विमुख छन् । विगतमा यो सडक सुधार गरेर नागरिकहरुलाई सहज आवतजावतका लागि राजनीतिक नेतृत्व जहिल्यै असक्षम बन्यो ।



जसको कारण नागरिकहरु वीरेन्द्रनगरबाट सुर्खेतको पूर्वतर्फ जान होस् वा वीरेन्द्रनगरबाट सुर्खेतको पश्चिम जाँदा सहज आवागनको महसुश गर्न कहिल्यै पाएनन् । विरामी पर्दा औषधोपचार र अन्य सेवा लिन सदरमुकाम वीरेन्द्रनगर पुग्न घटौं नभए खर्चिलो बास नै बस्नु पर्ने बाध्यता नागरिकलाई छ । नागरिकलाई सहज सडक यात्राका लागि प्राथमिकतामा भने कहिल्यै परेन् ।

मदन भण्डारी राजमार्गको भेडावारी धुलियाविट सडक खण्डको कल्यानमा कालोपत्रे गरिएको सडक ।

मदन भण्डारी राजमार्ग ६ जेठ २०७५ मा नेपाल सरकारले स्वीकृत गरेको हो । झापाको बाहुनडाँगीबाट शुरु भएको राजमार्ग डडेल्धुराको रुपाल अन्तिम विन्दु हो । यो राजमार्गले सुर्खेत जिल्लाको पूर्वी गुर्भाकोटको भेडावारीबाट शुरु भएर पश्चिम चौकुने गाउँपालिकाको वेनीघाटहुँदै सुदूरपश्चिमको डोटी जिल्ला प्रवेश गर्छ । सुर्खेतका चार नगरपालिका र दुई गाउँपालिकाका नागरिकको लाइफलाइन सडक हो मदन भण्डारी ।

मदन भण्डारीले सुर्खेतमा मात्रै झण्डै १५८ किलोमिटर पर्छ । योमध्य भेडावारी–बोटेचौर–रैकर (छिन्चु–जाजरकोड–डोल्पा) सडक करिव १२, धुलियाविट–बाँगेशीमल (फोरलेन) सडक आठ र बाँगेशीमल–बड्डीचौर (कर्णाली राजमार्ग) सडक ३० किलोमिटर कालोपत्रे भइसकेको छन् ।

बाँकी खण्डमा मदन भण्डारी र कर्णाली सरकारले काम गरिरहेकाले अबको तीन वर्षमा यो राजमार्गले पूर्णता पाउँदैछ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले पूर्वमा २८ असार २०७८ बाट काम थालेको हो ।

२०३२ सालमा ट्र्याक खोलिएको धुलियाविट–भेडावारी सडक ४६ वर्षमा कालोपत्रेका लागि ठेक्का लागेको हो । ३५ किलोमिटर दुरीको सडकको हालसम्म २० किलोमिटर कालोपत्रे सकिएको योजना कार्यालय सुर्खेतका इन्जिनियर रामहरिजन शाह बताउँछन् ।

‘पूर्वी क्षेत्रका पुल र कल्भर्ट सबै निर्माण सकियो । पुल निर्माण सकेको क्षेत्रमा कालोपत्रे लागि एप्रोज रोड बनाइरहेका छौं,’ शाह भन्छन्, ‘गुर्भाकोटको वेतनी खोलामा एउटा पुल मात्रै बनाउन बाँकी छ, फागुनसम्म सकिन्छ । बाँकी रहेको गंगटे खोलासम्म दशैं अगाडी कालोपत्रे सक्ने र गंगटे बजार–धुलियाविट सडक फागुनपछि कालोपत्रे गर्ने तयारी छ ।’

कालिका केएस भेरासी जेभीले एक अर्ब तीन करोड लागतमा निर्माण गरिरहेको सडक चालु आर्थिक वर्षको बैशाखसम्म सक्ने लक्ष्य छ । यसअघि मदन भण्डारी राजमार्ग सुर्खेतकै बोटेचौर, काल्चेहुँदै सल्यान कालमाटी भएर दाङ तुलसीपुर जोडिने हो । तर अहिले बोटेचौरबाट छिन्चु–जाजरकोट सडकबाट मदन भण्डारी राजमार्गलाई सल्यानको बालुवासंग्रहीबाट श्रीनगरहुँदै रोल्पा जोड्नेगरी मोडिएको छ ।

चौर–विद्यापुर–लगाम सडक कालोपत्रे गरिँदै
सुर्खेत पश्चिमको बड्डीचौरबाट मदन भण्डारी राजमार्ग लगाम जोडिन्छ । यो खण्डमा राजमार्गको दुरी ८५ किलोमिटर छ । तर यो सडकको ट्र्याक २०५१ सालमा खोलिएको हो । मदन भण्डारी राजमार्ग योजनाले विद्यापुर–गुटु–विजौरा–बल्दे २२ किलोमिटर सडक निर्माण १७ फागुन २०७९ बाट शुरु गरेको हो ।

एक अर्ब २१ करोड लागतमा रहेको सडकको निर्माण जिम्मा बानियाँ मोतिदान डि.एस.जेभी काठमाडौंले पाएको छ । ‘ट्रयाक खुलेको २९ बर्षपछि सडक स्तरोन्नतिले गति लिदाँ पश्चिम सुर्खेतबासीमा उत्साह छाएको छ,’ स्थानीय कमल न्यौपाने भन्छन्, ‘सडक निर्माणको क्रममा सास्ती त छ नै तर सडक कालोपत्रेपछि सुर्खेत पश्चिमका नागरिकको जीवन स्तर नै बदलिने छ ।’

उनले बड्डीचौर–खम्बागाडे सडक निर्माणको जिम्मा लिएको कर्णाली सरकारको काम अलपत्र जस्तै बन्दा कतै प्रवेश विन्दुको सडकले सास्ती दिइरहने हो की भन्ने चिन्ता लागेको बताए । यो खण्डको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । दोस्रो ठेक्का अन्तरगत ५० प्रतिशत भौतिक प्रगति सकिएको योजना कार्यालय सुर्खेतका ईन्जिनियर रेशम वलीले जानकारी दिए ।

उनकाअनुसार मदन भण्डारीले तेस्रो प्याकेज अन्तरगत चौर खोला–सालकोट–चत्तुरे चोक–दुलालथाई–विद्यापुर १० र बल्दे–लगाम १५ गरी २५ किलोमिटर सडक निर्माण जिम्मा दिवा यती जेभी काठमाडौंले पाएको छ ।

निर्माण व्यवसायी फिल्डमा खटिएकाले हाल ज्वइन्ट सर्वेको काम अन्तिम चरणमा रहेको ईन्जिनियर वली बताउँछन् । ‘खम्वगाडे–विद्यापुर–मायातालसम्मको रुख कटान भइसकेको छ ।अ न्य कुनै विवाद नरहेकाले निर्धारित समयमै सडक सम्पन्न हुनेमा विश्वास छ,’ वलीले भने, ‘मायाताल–विजौरा–लगामसम्म रुख कटानका लागि अन्तिम लगत एकिन गरिरहेकाले तीन महिनामा काम सकेर रुख कटान गरिनेछ ।’

प्रदेशले पाएन रुख कटान आदेश
मदन भण्डारी राजमार्ग अन्तर्गतकै बड्डीचौरदेखि खम्बागाडेसम्म सडक खण्डको लम्बाई १३ किलोमिटर छ । यो सडक निर्माणका लागि कर्णाली प्रदेश सरकार हतारिएर काम थालेपछि समयमै निर्माण सम्पन्न नहुँदा नागरिकहरूले सास्ती खेपिरहेका छन्।

तर राष्ट्रिय राजमार्गमा कर्णाली सरकारले हात हालेपछि निर्माणको गति कछुवासरी छ ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतले ठेक्का व्यवस्थापन गरेर निर्माण जारी नै छ। सडक निर्माणका लागि अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

१४ असार २०७९ बाट निर्माण थालेको अनक जयदेविले १५ असार २०८१ मा सडक निर्माण सक्नु पर्ने हो । तर अहिले निर्माण व्यवसायीले दुई वर्षका लागि म्याद थप गर्नुपर्ने भन्दै निवेदन दिएको छ।

निर्माण व्यवसायीले काम गर्ने ठाउँ हुँदाहुँदै अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो पूर्वाधार विकास निर्देशनालय सुर्खेतको छ । निर्देशनालयका निर्देशक सूर्यबहादुर शाहीकाले सडक निर्माणको निर्धारित समय सकिएपनि म्याद थप गरेर सम्पन्न गर्नमा गम्भीर रहेको बताउँछन् ।

‘रुखको कटानका लागि सबै प्रक्रिया पुर्‍याएर संघ वन मन्त्रालयमा पठाइसकेका छौं,’ शाही भन्छन्, ‘काम गर्ने ठाउँ भए पनि निर्माण व्यवसायीले उल्लेख्य काम नगर्दा आलोचित बनिराख्नु परेको छ ।’ वातावरण प्रभाव मुल्यांकन (ईआइइ) सकेर फायल केन्द्र पठाइसकेकाले केही महिनामा देखिएको समस्या समाधान हुनेमा शाही विश्वस्त छन् ।

यता मदन भण्डारी राजमार्गको क्षेत्रमा नपर्ने खम्बागाडे–बावियाचौर–विद्यापुर खण्डको १० किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेतले निर्माण गरिरहेको छ । खम्बगाडे–बावियाचौरमा कालोपत्रे शुरु गरेपनि यही सडकको बावियाचौर–विद्यापुर खण्डमा रुख कटान अनुमति नपाउँदा निर्माण गती सुस्त छ ।

‘प्रदेशले हतार गर्नु हुन्थेन्, तर सहजिकरण गरिरहेका छौं’

इन्जिनियर दिप बाराही, निर्देशक, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय ।

बड्डीचौर खम्बगाडे सडक खण्ड मदन भण्डारी राजमार्ग आयोजनाकै नाममा रहेको सडक हो । यो सडकमा हतारिएर प्रदेशले निर्माण थाल्नु हुन्थेन् । किनकी राजमार्ग घोषणा भइसकेको सडकमा विभिन्न बाधा अड्चनहरु हुन्छन् ।

ति समस्याहरुलाई फुकाउन प्रदेश सरकारलाई अलि गाह्रो नै हुन्छ । यद्यपी सडक निर्माणका लागि कर्णाली सरकारको पूर्वाधार विकास निर्देशनालयले जिम्मा लिएर काम थालिरहेको बखत रुख कटान अनुमति विषयमा जटिलता आयो ।

तर निकाश त दिनै पर्छ । कतिपय काम भइसकेको छ । निर्देशनालयले सडक विभागहुँदै फायल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकेको छ । प्रदेशले नै सडक निर्माण गर्ने तर त्यसको भोकाधिकार निर्देशनालयमै निहित रहनेगरी वाधा अड्चन फुकाइदिन हामीले मन्त्रालयसम्म पत्र पठाइसकेका छौँ ।

मन्त्रालय र विभागबाट अहिलेसम्म कुनै जानकारी आएको छैन् । नागरिकलाई दुःख दिनुहुँदैन र छिटो सडक बनाउनुपर्छ भन्नेमा हामी गम्भीर छौं । विभागबाट जानकारी आउने वित्तिकै निर्देशनालयले प्रदेशले निर्माण गरिरकेको सडक मदन भण्डारी राजमार्ग आयोजना निर्देशनलायकै भएको र रुख कटानका लागि वन तथा वातावरण मन्त्रालयमा पठाइदिन सहजिकरण गर्नेछौं ।

हृदयराम थानी, सांसद, प्रतिनिधि सभा २ सुर्खेत ।

‘अड्चन फुकाउन पहल गरेकै छु’

ठेक्का आह्वान भएर कार्यान्वयनमा गइसकेको सडकको निर्माण गति नबढ्दा म चिन्तित छु । वातावरणिय प्रभाव मुल्यांकन (ईआइए) कै कारणको कारण देखाउँदै निर्माण व्यवसायीले काम गर्न नसकेको बताउँदै आएको छ ।

प्रदेशको पूर्वाधार विकास निर्देशनालयले रुख कटानको अनुमतिका लागि फायल वन तथा वातारण मन्त्रालयमा पठाइसकेको छ । निर्माण भइरहेको सडक एउटा कामले रोकिनु हुँदैन भनेर पहल गरिरहेको छु ।

अहिले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले थप रायसहितको फायल विभागहुँदै मन्त्रालय पठाएको छ । मन्त्रालयको सचिव स्तरवाटै काम टुंगिन्छ वा थप अघि बढ्छ भन्ने विषयमा पछ्याइरहेको छु ।

आशा छ यो अन्तिम प्रक्रिया भएकाले कुनै निकाश मन्त्रालयबाट आएपछि रुख कटानको अवरुद्ध कार्यलाई निर्णय गराउन निर्देशनालयले पत्र लेखेपछि मन्त्री परिषद्को बैठकमा वन मन्त्रालयले लैजानेमा विश्वस्त छु ।

‘रुख र विद्युत पोलका कारण काम गर्न सकेनौं’

सन्देश शाही, निर्माण व्यवसायी, अनक जयदेवी जेभी बाँके

 बड्डीचौर खम्बगाडे सडक खण्डमा कामै गर्न सकेन भन्ने आरोप गलत छ । काम गर्न सक्ने ६ किलोमिटरमा डवल कटिङ्ग गरेर तीन किलोमिटर सडक ग्राभेल गरिसकेका छौं । त्यो देखि बाँकी ६ किलोमिटरमा काम गर्न सकिने अवस्था छैन् ।

मुख्यगरी रुख कटान नहुँदा काम गर्न समस्या भयो । १२ मिटर चौडा सडक निर्माण गर्नुपर्नेछ । अहिलेसम्म बढीमा सात मिटर चौडाइ मात्र सडक डवल कटिङ्ग सकिएको छ ।

कतिपय ठाउँमा मोटो फिलिङ गर्न कटिङ गरेर हाल्नु पर्नेछ । कटिङ गर्नुपर्ने ठाउँमा रुख बाधक बनिरहेका छन् । सडक किनाराका विद्युतका पोलले उस्तै सास्ती दिइरहेका छन् ।

बड्डीचौर बजार मुखैमा विवाद सल्टिएको छैन् । ठेक्का अवधी १५ असारमा सकिएकाले दुई वर्षका लागि म्याद थपका लागि निवेदन दिएको छु ।

काम गर्ने मनसाय नै हुन्थेन भने निर्माणका लागि आवश्यक गाडीहरु फिल्डमै छन् । विवाद सल्टाउनमा निर्देशनालय लागिरहेको बताउँछ । सडक किनाराका रुख कटान नगरिदिँदा अपेक्षा गरेअनुसारका काम हुन सकेको छैन् ।

अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगती सकिएको छ । कटिङ धैरै गर्नुपर्ने ठाउँ छैन् । रुख मात्रै हटाइदिए काम सक्नमा निर्माण व्यवसायी तयार छ ।

 

 

तपाईको प्रतिक्रिया