नेपालको हवाई उडानमा नयाँ रेकर्ड : एकैदिनमा ५५९ उडान



काठमाडौं । सङ्घीय राजधानी काठमाडौंमा भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप उल्लेख्य रूपमा बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । जसले हवाई यात्रीको चापमा वृद्धि गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । सोमबार एकै दिनमा साढे पाँच सय उडान भएका छन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएअनुसार, आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएको छ ।

आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएको उल्लेख गरिएको छ । हालको अवस्थामा, वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा गर्न कठिनाइ भैरहेको छ । यस्तो अवस्थामा हवाई उडान नै यातायातको एकमात्र विकल्प बनेको छ ।

यात्रामा समस्या भएपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दैनिक विमानस्थलमा यात्रुको भीड लाग्न थालेको छ । आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य संख्यामा यात्री विमान उडानको पर्खाइमा थिए ।

तपाईको प्रतिक्रिया