सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वी क्षेत्रमा पर्ने लेकवेशी नगरपालिकाको नेटामा रेविज रोगको संक्रमण देखिएपछि खोप लगाइएको छ । लेकवेशी नगरपालिका–५ नेटामा पुगेर भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशुपंन्छी विकास महाशाखाले कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाएको हो ।

यहीँ असोज पहिलो हप्ता लेकवेशी नगरपालिका ५ नम्बर वडाध्यक्ष चक्रबहादुर शाहीले पालेको घरपालुवा कुकुर मरेको थियो । रेविज संक्रमित स्यालको टोकाइबाट कुकुरमा रेविज फैलिएको आशंका गरिको हो ।
कुकुरलाई छुट्टै राखेर बाँधिएको अवस्थामा कुकुर मरेपछि लेकवेशी नगरपालिकामा रहेका पशु प्राविधिकहरुले परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत पठाएका थिए ।

ल्यावमा रेविज पुष्टि भएपछि ५ नम्बर वडाका सबै घरपालुवा र छाडा छोडिएका कुकुरहरुलाई मन्त्रालयले खोप लगाएको हो । वडाभित्रका डाँडागाउँ, फालिकोट, नेवाल खोला, शिमलगैरा, थुम्का, मलधुरी लगायत गाउँका नागरिकहरुले पालेका कुकुरहरुलाई नेटामा ल्याएर खोप लगाएको मन्त्रालयका पशु स्वास्थ्य तथा नियमन शाखाका पशु स्वास्थ्य प्राविधिक कमलबहादुर विश्वकर्माले जानकारी दिए ।
‘एउटामा रेविज पुष्टि भइसकेपछि थप क्षती नहोस् भनेर सजकताका लागि वडामा स्थानीयले पालेका सबै कुकुरलाई खोप लगाएका हौं,’ विश्वकर्माले भने, ‘रेविज विरुद्धको खोप लगाएपछि मानवीयसँगै पशुधनको थप क्षती हुनबाट जोगिनेमा विश्वस्त छौं ।’

रविज रोग फैलिएको क्षेत्रमा मन्त्रालयले तत्काल पशुपन्छी विकास निर्देशनालय, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र सम्बन्धित स्थानीय तहको समन्वयमा खोप लगाउने गरिएको पशु स्वास्थ्य तथा नियमन शाखाका पशु स्वास्थ्य प्राविधिक विश्वकर्माको भनाई छ ।
नेटामा यसअघि पनि रेविजबाट कुकुर मरेपछि रेविज विरुद्धको खोप लगाइएको थियो । नेटा क्षेत्रको भुगोल कठिन र जंगल बढी रहेकाले रेविज रोग प्रायः स्यालहरुबाट फैलिने गरेको मन्त्रालयको पशुपंन्छी विकास महाशाखाका प्रमुख कलमबहादुर महताराले जानकारी दिए ।
वर्षातको बेला स्याल कुखुरा वा बाख्राको शीकार गर्न घर नजिक आउने भएकाले त्यहीँ समयमा कुकुरलाई टोकेको हुनसक्ने अनुमान महताराको छ । ‘वर्षातमा मकैबारीले गाउँघर जंगल जस्तै बनेकाले त्यो बेला प्रायः स्याल बस्ती नजिक आउने गर्छन्,’ महतारा भन्छन्, ‘वर्खाको समयमा कुकुरलाई बादरको हेरालुका रुपमा घरदेखि टाढा बारीमा बाध्ने गरिन्छ, त्यहीँ मौकामा स्यालले कुकुरलाई आक्रमण गर्दा यो रोग विस्तारै कुकुरमा फैलिदै जाँदा मर्ने गर्छन ।’ ५ नम्बर वडाका झण्डै चार सय बढी कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल कर्म । १४ आश्विन २०८१, सोमबार ११:०४