सुर्खेत । दसैँ नजिकिँदासम्म पनि यो वर्ष मनसुन नबाहिरिँदा असोजमा पनि झरी पर्ने भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुनेछ । विभागले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि अति वर्षासम्म भएर त्यसले ५६ जिल्लामा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको छ ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण आज दिउँसोदेखि असोज १३ अर्थात् आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ ।
मुख्यगरी कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अत्याधिक वर्षाको सम्भावना रहेको छ ।

साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति धेरै वर्षाको पनि सम्भावना रहेको छ ।

असोज १० गते बिहीबार दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित धेरै वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै देशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
यस प्रणालीको प्रभावले विशेषगरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाइएको छ ।
यस्तै विभागले ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेका छ । बालीनालीमा क्षति गर्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

नेपाल कर्म । १० आश्विन २०८१, बिहीबार ०८:०८