सुर्खेत । भारतमा नेपाली चेलीको विभत्स रुपमा गरिएको हत्याको खवर यति बेला भाइरल भइरहेको छ । भारतको बेंग्लोरस्थित भायलिकावलको पाइपलाइन रोडको एक घरमा भाडामा बस्दै आएकी युवतीको हत्यापछि शव टुक्राटुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा भेटिएको हो ।

भारतीय मिडिया टाइम्स अफ ईन्डियाकाअनुसार सन् २०२२ मा दिल्लीमा भएको नृशंस श्रद्धा वाकर प्रकरणको सम्झना दिलाउने एउटा अपराध बेंग्लोरमा घटेको भन्दै उल्लेख गरेको छ । २९ वर्षीया महालक्ष्मी दासको निर्मम हत्या गरेर शवलाई ३० भन्दा बढी टुक्रामा काटेर फ्रिजमा राखिएको अवस्थामा फेला पारिएको छ ।
शनिबार दिउँसो ३ः३० बजेतिर महालक्ष्मी भाडामा बस्दै आएको कोठाबाट दुर्गन्ध आएपछि घरधनीले बोलाउन उनको कोठा ढकढकाएका थिए । तर उनले कुनै चाल नगरेपछि महालक्ष्मीकी आमा र जेठी बहिनीले घरमालिकले खवर गरेका थिए । उनीहरु कोठामा पुगेर मुख्य ढोका फोडेर कोठामा पुगेका थिए । तर कोठामा कुनैपनि गन्हाउने बस्तु नभेटिएपछि फ्रिज खोल्दा शव टुक्राटुक्रा पारेर राखिएको फेला परेको हो ।

भायलिकावलको पाइपलाइन रोडमा रहेको एक भवनको पहिलो तल्लामा पाँच महिनादेखि महालक्ष्मी भाडामा बस्दै आएकी थिइन् । उनको नेपाल घर कैलाली भएपनि भारतमै जन्मिएकी महालक्ष्मीको परिवार लामो समयदेखि भारतमै बस्दै आएका थियो ।
६ वर्षअघि महालक्ष्मीले भारतीय युवासँग विवाह गरेकी थिइन् । उनकी पाँच वर्षीय छोरीसमेत छन् । यसअघि नेलामंगलामा श्रीमानसँग बस्दै आएपनि सम्बन्ध विच्छेद गर्न प्रक्रियामा गएपछि उनी छुट्टै बस्दै आएको बेंग्लोरस्थित पश्चिम डिभिजनका सहायक प्रहरी प्रमुख सतीश कुमारले जानकारी दिए । उनकाअनुसार महालक्ष्मी घरमा एक्लै बस्ने गरेको र घरधनी जयराम भुइँतलामा बस्दै आएका थिए ।
महालक्ष्मीसँगै शुरुमा उनका जेठा भाइ पनि सँगै बस्थे। निर्मम तवरबाट गरिएको हत्याको विषयमा प्रहरी अधिकारीहरुले एक व्यक्तिबाट भएको वा त्यो भन्दा बढीको संलग्नता छ भन्ने विषयमा अनुसन्धान गरिएको छ । प्रहरीका अनुसार ती महिलाको मोबाइल भने भदौ १७ गते अर्थात् सेप्टेम्बर २ मा भएको हुनसक्ने अनुमान गरिएकाे छ ।

प्रहरीकाे पनि भदौ १७ गते अर्थात् सेप्टेम्बर २ मा हत्या भएको हुन सक्ने अनुमान छ । हत्या कसले र किन गर्याे भन्रे विषयमा प्रहरीले अनुसन्धान गरेपनि अहिलेसम्म कसैलाइ प्रक्राउ गरेकाे छैन्।
प्रहरीले महालक्ष्मीको मोबाइलमा भएका नम्बरहरुको कल रेकर्ड जाँच गरेर अनुसन्धान अघि बढाइसकेको छ । “यो आश्चर्यजनक छ कि उनको परिवारका कुनै पनि सदस्यले उनलाई यति लामो समयसम्म सम्पर्क गर्ने प्रयास गरेनन्। यस विषयमा हामी उनीहरूलाई सोधपुछ गर्नेछौं,’ एक प्रहरी अधिकारीले भने।
छिमेकी सुशीला (नाम परिवर्तन) ले महालक्ष्मीले आफूसँग कहिल्यै कुराकानी नगरेको र आफू विवाहित भएको बारे आफूहरु अनभिज्ञ रहेको बताइन् । उनले भनिन्, ‘हामीलाई यति मात्र थाहा छ कि उनी बिहान ९ः३० बजे मलमा आफ्नो कामको लागि जान्थिन् र राती १०ः३० बजे फर्कन्थिन् ।’
छिमेकीहरूकाले भने दैनिक विहान एक जना व्यक्ति महालक्ष्मीलाई लिन बिहान उठाएर राति घर छोड्ने गरेको बताएका छन् । सम्पत्ती चोर्ने वा अन्य भौतिक लाभका लागि महालक्ष्मीको हत्या नभएर योजनावद्ध रुपमा हत्या गराएको हुनसक्ने भन्दै प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको जनाएको छ ।

सुशील खड्का । ६ आश्विन २०८१, आईतवार १६:०२