सुर्खेत । राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन संविधानको सफल कार्यान्वयन आवश्यक रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन ।
नेपाली जनताको सात दशक भन्दा लामो सङ्घर्ष र बलिदानपछि जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाई रहेका शुभकामना सन्देशमा उनले उल्लेख गरेका हुन् ।

‘विभिन्न आन्दोलनको क्रममा जीवन गुमाउनु हुने ज्ञात अज्ञात सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दछु, साथै राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनको अगुवाइ गर्ने अग्रजहरू प्रति सम्मान व्यक्त गर्दै सबै वर्ग, क्षेत्र र समुदायको योगदानको उच्च प्रशंसा गर्दछु,’ कँडेलले शुभकामना सन्देशमा भनेका छन् ।

संविधान कानूनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएको बचाउदै मुख्यमन्त्री कँडेलले यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै नागरिकका आवश्यकताको सम्बोधनका लागि यतिबेला सवै अधिकतम तदारुकता जरुरी रहेकाे बताए ।

‘संविधान निर्माणसँगै जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अव मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने अहिलेको प्रमुख कार्यभार हाे,’ कंडेलले भने, ‘यो कार्यभार पुरा गर्न प्रदेश सरकार क्रियाशील रहेकाे र प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान भएकोले मुलुकमा राजनीतिक स्थायित्व कायम गरि समृद्धि हासिल गर्न तीन तहका सरकारबीच समन्वय जरुरी छ ।’
संविधानको यो मूल मर्म अनुसार यो दिवसले संविधान प्रदत्त नागरिक अधिकारप्रति कर्तव्यनिष्ठ र थप जिम्मेवार बन्न तीनै तहका सरकारलाई अझ प्रेरणा मिल्नेमा उनकाे विश्वास छ ।

नेपाल कर्म । ३ आश्विन २०८१, बिहीबार ०९:१९