सवारी चालक एशाेसिएशनले गरे संयुक्त विश्वकर्मा बाबाकाे पूजा

सुर्खेत । सरकारी र संस्थानमा आवद्ध सवारी चालकहरूले संयुक्त रूपमा विश्वकर्मा बाबाकाे पूजा गरेका छन् । जिल्ला समन्वय समितिमा रहेकाे सरकारी तथा संस्थान सवारी चालक एशाेसियशनकाे कर्यालय परिसर अगाडि विश्वकर्मा बाबाकाे पूजा गरेका हुन् ।



मन्त्रालय, सरकारी र संस्थानका सवारी तथा एम्बुलेन्सहरु कार्यालय परिसरमा ल्याएर संयुक्त रुपमा पूजा गरिएकाे एशाेसियशन कर्णालीका अध्यक्ष श्याम देवकाेटाले जानकारी दिए । कार्यक्रममा  भाैतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका राज्यमन्त्री गमता विकले विश्वकर्मा बाबाकाे मुर्तीमा पूजा गरेकी थिइन । त्यसपछि सबै चालकहरुले संयुक्त रुपमा सवारीहरूकाे पूजा गरेका छन् ।

कर्णालीमा हाल ३४२ जना सवारी चालक एशाेसियशनमा आवद्ध भएकाे र उनीहरुकाे हकहितमा काम गर्दै आएकाे अध्यक्ष देवकाेटाले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, ८ नम्बर वडाध्यक्ष टीकाराम शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

विश्वकर्मा पूजामा मुख्यगरी मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँन्छ। कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ।

भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ। यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ।

महादेवबाट पाएको सृष्टिको सृजना गर्ने जिम्मेवारी निभाउने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएका धार्मिक विश्वास छ। हिन्दु धर्मावलम्बीहरुले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको रुपमा लिने गर्दछन्। शास्त्रमा उल्लेख भएअनुसार उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए।

उनले सत्य युगमा स्वर्गलोक, त्रेता युगमा लंका, द्वापर युगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति बनाएको मानिन्छ।

तपाईको प्रतिक्रिया