सामाजिक मन्त्रालयकाे बेमानी, दरवन्दी नभएकाे ठाउँ वरिष्ठ सर्जनकाे सरुवा

सुर्खेत । कर्णाली प्रदेशमा विशषेज्ञ डाक्टरहरूको अभाव छ । दरबन्दीअनुसार विशेषज्ञता हाँसिल गरेका डाक्टरहरू नहुँदा गुणस्तरीय सेवा प्रवाहमा समस्या हुने गरेको कर्णालीका लागि नौलो होइन ।दक्ष जनशक्ति अभावसँग लडिरहेको कर्णालीको स्वास्थ्य प्रणाली सुधार गर्नुपर्नेमा प्रदेश सरकारले गलत निर्णय लिएको आरोप लागेको छ । गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याई स्वस्थ र सक्षम नागरिक तयार गर्ने जिम्मेवारी पाएको कर्णालीको सामाजिक विकास मन्त्रालयले डाक्टर सरुवामा विभेद गरेको आरोप छ ।



१३ भदौमा मन्त्रीस्तरको निर्णयबाट मन्त्रालय र यसका मातहत रहेका कार्यालयका कर्मचारीको सरुवामा विशेषज्ञ डाक्टरलाई अस्पतालमा नभई अन्यत्र पठाएर मनपरी गरेको पाइएको छ । मन्त्रालयले मेहेलकुना अस्पतालमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डाक्टर सोजन सापकोटालाई मानव संशाधन विकास केन्द्रमा सरुवा गरेर भुमिकाविहीन बनाएको छ ।

सापकोटा स्वास्थ्य सेवाअन्तर्गत जनरल सर्जरी अधिकृतस्तर दशौँ तहका डाक्टर हुन् । कर्णाली प्रदेश अस्पतालमा दरबन्दी रहेका सापकोटा चार वर्षअघि मेहेलकुना अस्पतालको प्रमुख भएर गएका थिए । मन्त्रालयले सापकोटालाई मानव संशाधन केन्द्रमा नभएको दरबन्दीमा पठाएको छ ।

जबकी मानव संशाधन केन्द्रबाट विशेषज्ञ डाक्टरको आवश्यकता कुनै पनि क्षेत्रमा पर्दैन । मन्त्रालयले यतिसम्म गरेको छ कि संशाधन केन्द्रमा जनस्वास्थ्यतर्फ रिक्त रहेका दशौँ तहका दुई दरबन्दीमा कर्मचारी नपठाएर विशेषज्ञ डाक्टरलाई जबरजस्ती थन्काउन खोजेको छ ।

कर्णालीमा दरबन्दी नै नभएको ठाउँमा वरिष्ठ सर्जनको सरुवा गरिएको छ । सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा। सोजन सापकोटालाई दरबन्दी नै नभएको ठाउँमा सरुवा गरिएको हो । उनलाई दरबन्दी नै नभएको मानव संशाधन विकास केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।

कार्यालयका अनुसार केन्द्रमा विशेषज्ञ डाक्टरबाट कार्यसम्पादन हुने कुनै पनि दरबन्दी छैन । यहाँ जनस्वास्थ्यतर्फका दरबन्दी मात्र छन् । स्वास्थ्य सेवाअन्तर्गत जनरल सर्जन अधिकृतस्तर दसौँ तहका डा. सापकोटाको दरबन्दी कर्णाली प्रदेश अस्पतालमा थियो । २०७७ भदौमा मेहलकुना अस्पतालको प्रमुख भएर गएका थिए ।

 

अस्पतालमा वर्षौंबाट स्थायी डाक्टर नभएर कामकाज प्रभावित भएपछि आफूलाई त्यहाँ खटाइएको उनले बताए । प्रदेश अस्पतालमा कार्यरत आफू ३ दिन मेहलकुना अस्पतालमा बस्ने र ३ दिन प्रदेश अस्पतालमै सर्जरीको काम गर्ने सहमतिमा मेहलकुना जान राजी भएको जानकारी दिए ।

‘म १० वर्षअघि नै सर्जन पढेर आएको हुँ । मेहलकुनामा अप्रेसनको सबै व्यवस्थापन नभएकाले मैले मेरो कामै भुल्छु भनेर ३ दिन प्रदेश अस्पतालमा काम गर्छु भनेको थिएँ,’ डा‍. सापकोटाले भने, ‘पछि मेहलकुनामा पनि साना अप्रेसनहरू सुरु गरें । ठूला अप्रेसनका लागि प्रदेश अस्पतालमै आउने गरेको थिएँ । मेरो सरुवा मेरो विशेषज्ञता अनुसार प्रदेश अस्पतालमै हुनुपर्ने हो । तर मलाई पेलेर मन्त्रालयले दरबन्दी नै नभएको र मेरो कामै नभएको ठाउँमा पठायो । यो त डाक्टरमाथि अन्याय भयो ।’

कार्यक्षेत्रभन्दा बाहिर सरुवा गरिएपछि डा. सापकोटाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेका छन् । मन्त्रालयले क्षेत्राधिकार बिर्सेर गरेको सरुवा विभेदपूर्ण रहेको उल्लेख गर्दै यथाशीघ्र सरुवा बदर हुनुपर्ने मागसहित उनले उजुरी दर्ता गराएका हुन् । आफ्नो विशेषज्ञता विपरीत गरिएको सरुवा आफूलाई मान्य नहुने सापकोटाले उजुरीमा उल्लेख गरेका छन् । भदौ १३ मा काज सरुवा गरेर भदौ १५ मा मन्त्रालयको वेबसाइटमा राखिएको थियो ।

यता प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखलेरले दरबन्दी नभएको ठाउँमा पठाएको नभएर सेवा उपसमूह नमिलेको बताए । सरुवापछि डाक्टरलाई थप जिम्मेवारी दिने योजना मन्त्रालयको रहेको उनले सुनाए । मानव संशाधन स्वास्थ्य र शिक्षाको तालिम केन्द्र हो । ‘त्यहाँ पनि डाक्टर चाहिन्छ । अर्को कुरा मेहलकुना अस्पतालमा काम गर्दा उहाँको काम गर्ने शैली राम्रो थिएन,’ सचिव पोखलेरले भने, ‘उहाँ अस्पतालाई सुधार गर्ने पक्षमा पनि लाग्नुभएन । म अनुगमनमा गएका बेला पनि उहाँ बिनाजानकारी बिदामा बसेको भेट्टाएको थिएँ ।’

तपाईको प्रतिक्रिया