भ्रष्टचारी जोगाउन काँग्रेस–एमाले मिलेका हुन् : प्रचण्ड

सुर्खेत । प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरण आवश्यक नरहेको बताएका छन् । सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले आफू ७० वर्ष कट्दै गरेको र सधैँ नेतृत्वमा बसिरहनु पर्छ भन्ने मान्यता नभएको स्पष्ट पारेका हुन् ।




प्रचण्ड अध्यक्ष भन्दा माथि भइसकेकाले एउटा राम्रो टिम बनेपछि अर्का भूमिकामा जाने सोचिरहेको पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष प्रचण्डले खुलाए । भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी प्रचण्डको छ । गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी दिँदै उनले यो विद्रोहको भाषा नभएको बताए ।

एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै अध्यक्ष प्रचण्डले संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको जानकारी गराए । पार्टी फुटको चर्चा गलत भएको पुष्टि भइसकेको भन्दै प्रचण्डले यो विषय एकथरी मान्छेले गलत प्रचार गर्न नियोजित रूपमा सतहमा ल्याएको बताए । पार्टी भित्र कुनै आन्तरिक विवाद नरहेको र भएका साना मसिना विवाद पनि समाधान भएको उनको जकिर छ ।

तपाईको प्रतिक्रिया