पहिरोले सडक बगाएपछि कर्णाली राजमार्ग पूर्ण रुपमा बन्द

सुर्खेत । पहिरोका कारण कर्णाली राजमार्ग बन्द भएको छ । बुधबार बेलुकीदेखिको वर्षातका कारण कर्णाली राजमार्गको दुई ठाउँमा सडक नै बगाएपछि सवारी आवागमन बन्द भएको हो ।



गगने खोला र दही खोलामा पूरै सडक बगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख अर्जुन केसीले जानकारी दिए । उनकाअनुसार मुख्य पहिरो गएको क्षेत्रमा पुग्न सकिएको छैन ।

सुर्खेत-जुम्ला सडककाे जिते-राकम कर्णाली खण्डकाे दही खाेलामा बाढीले बगाएकाे सडक बायाँ र गगने खाेलामा पहिराेले बगाएकाे सडक दायाँ ।

जितेगडा, सेरिघाट क्षेत्रको पहिरो पन्छाए एस मोडमासमेत पहिरो खसेकाले अहिले त्यहाँ काम भइरहेको केसीको भनाई छ । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छ्याउन डोजरमार्फत काम गरिरहेको छ । दही खोलातर्फ गएको पहिरो पन्छ्याउन सडक डिभिजन सुर्खेतले काम गरिरहेको छ ।

गगने खोलामा वर्षेनी पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । यता, कर्णाली करिडोरको फुगाड जलविद्युत् आयोजनाको सुरुङ खनेको रेंगिल भिरनजिकै र फुगाडमा पनि पहिरो खसेको छ ।

सडक अवरुद्धहुँदा कर्णाली राजमार्ग र करिडोरका विभिन्न स्थानमा गाडी ठाउ ठाउमा रोकिएका छन् । २ सय ३२ किमि लामो कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक वर्षा लागेपछि बेला-बेला पहिरोले अवरुद्ध हुादै आएको छ । असार यता मात्र ४१ पटक अवरुद्ध भइसकेको छ ।

तपाईको प्रतिक्रिया