
सुर्खेत । आगामी मंसिरदेखि सुर्खेतमा आयाेजना गर्न लागिएकाे दशाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता निर्धारित मितिमा हुने वा नहुने भन्ने अन्याैल देखिएकाे छ । खेल सञ्चालन कार्यविधि हालसम्म नबन्नु, पाेशाककाे टेण्डर नहुनु, दुइ ठूला पर्व दशैं र तिहारकाे विदाका कारण मंसिर २ देखि ९ गते गर्न लागिएकाे प्रतियाेगिता अन्याैलमा परेकाे हाे ।

हालसम्म खेलकुदका लागि आवश्यक पूर्वतयारी सुस्त भएकै कारण पनि निर्धारित मितिमा प्रतियाेगिता सञ्चालन हुनेमा खेलकर्मी नै आश्वस्त हुन सकिरहेका छैनन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सुर्खेतमै पुगे पनि ताेकिएकै मितिमा हुने प्रतियाेगिताबारे विश्वास दिलाउन नसकेर फर्किएका छन् ।

व्यवस्थापकीय हिसाबले निर्धारित मितिभन्दा केही पछि सर्ने आशयकाे अभिव्यक्ति मन्त्रीले वीरेन्द्रनगरमा गरिएकाे छलफलका क्रममा बाेलेकाे एक सहभागीले बताए । कर्णाली प्रदेश खेलकुद परिषद सदस्य सचिव विश्वमित्र सञ्ज्याल भने निर्धारित मितिमा प्रतियोगिता गर्न सक्ने बताउँछन् । असोज मसान्तसम्म पूर्वाधार निर्माणको काम सक्ने भन्दै उनले भने, ‘पूर्वाधारको कारणले १० औं खेलकुदको मिति पछाडि सर्दैन ।’

पूर्वाधार निर्माणमा अझै एकदेखि डेढ महिना लाग्ने देखिन्छ । हाल राखेपको इन्जिनियरिङ टिम सुर्खेतमा नै रहेको छ । इन्जिनियरिङ टिमलाई २० भदौभित्र पूर्वाधार र व्यवस्थापकीय पक्षबारे मूल्यांकन गरेर जानकारी दिनेछ ।
१० औं राष्ट्रिय खेलकुदको कार्यविधि हालसम्म बनेको छैन । खेलाडीको पोशाकको टेण्डरसमेत भएको छैन । कार्यविधि पास हुनै १० देखि १५ दिन लाग्ने र खेलाडी पोशाकको टेण्डर कम्तीमा पनि एक/डेढ महिना लाग्ने भएकाे पनि त्यसकाे तयारी राष्ट्रिय खेलकुद परिषदले हालसम्म गरेकाे छैन् ।
पूर्वाधार बाहेकका पक्षमा भने आफूहरुले जिम्मा लिन नसक्ने कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव सञ्ज्याल बताउँछन् । ‘पूर्वाधारबाहेक अन्य समस्याहरु निकाल्ने भए त निस्कन्छन् । तर त्यसमा हामीलाई जिम्मेवारी छैन । हामी पूर्वाधारको कारण भने १० औं राष्ट्रिय खेलकुद सर्न दिँदैनौं’, उनले भने ।
नेपाल कर्म । १२ भाद्र २०८१, बुधबार १४:४७