इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

काठमाडौं । इटालीलाई पराजित गर्दै स्पेन नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। नेदरल्यान्डसमा गएराति भएको सेमिफाइनलमा स्पेनले इटालीलाई २-१ गोलले पराजित गरेको हो।



खेल सुरु भएको तेस्रो मिनेटमै स्पेनले अग्रता लिएको थियो। इटालीका लेजेन्ड लियोनार्दो बोनुचीबाट बल खोस्दै यारिमी पिनोले गोल गरेका थिए। तर स्पेनको अग्रता लामो समय भने टिकेन। एघारौं मिनेटमा इटालीले पेनाल्टीमार्फत खेल बराबरी गर्‍यो।

राष्ट्रिय टिमबाट डेब्यु गरेका रोबिनले नोमन्डबाट ह्यान्ड बल भएपछि इटालीले पेनाल्टीको मौका पाएको थियो। जसलाई चिरो इमोबिलेले गोलमा परिणत गरे। पहिलो हाफको बाँकी समयमा दुवै टिमबाट थप गोल भएन।

खेल अतिरिक्त समयमा जाने अनुमान गरिएको थियो। ८८औं मिनेटमा सब्सिच्युट होसेलुले गोल गरेपछि युरोकप विजेता इटालीलाई निराश पार्दै स्पेन लगातार दोस्रोपटक नेसन्स लिगको उपाधिनजिक पुग्यो।

होसेलुको स्पेनका लागि तीन खेलमा यो तेस्रो गोल हो। अब स्पेनले फाइनलमा आगामी सोमबार लुका मोड्रिचको टोली क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ। अघिल्लोपटक स्पेन फाइनलमा फ्रान्ससँग पराजित भएको थियो। क्रोएसिया नेदरल्यान्डसलाई ४-२ गोलले हराउँदै उपाधिनजिक पुगेको हो।

तपाईको प्रतिक्रिया