कर्णालीमा चट्याङबाट १६ जनाकाे मृत्यु, दैलेखमा मात्रै ४४ पटक खस्यो

सुर्खेत । घटना १ : २०८० भदौ २८ गते महावु गाउँपालिका–१ मा चट्याङ पर्दा गम्भीर घाइते भूमिसरा खत्रीको उपचारको क्रममा मृत्यु भयो । सोही दिन दैलेखका चार स्थानमा परेको चट्याङका कारण १९ जना घाइते भए । चट्याङ परेका स्थानमा महावु गाउँपालिका– १ नम्बर वडाको खरीगैरा, ओलढुंगा, डुंगेश्वर गाउँपालिका–६ को लयाटी र नारायण नगरपालिका–४ तामेखोलामा चट्याङ खसेको थियो ।



घटना २ : २०८० चैतमा चट्याङ खस्दा भैरवी गाउँपालिका–६ तोरीमुलमा १३ वर्षीय शर्मिला कँडेल गम्भीर घाइते भइन् । तत्कालै उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरियो । तर ल्याउदै गर्दा उनको बाटोमै मृत्यु भयो ।

घटना ३ : २०८१ बैशाख २६ गते नौमुले गाउँपालिका–६ मा रहेको शीव माध्यमिक विद्यालयमा चट्याङ खस्दा तीन जना विद्यार्थी घाइते भए । शरिरका विभिन्न भाग जलेका उनीहरुको नौमुले प्राथमिक स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका थिए ।

घटना ४ : ०८१ साउन ३२ गते विहान ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा घरमा चट्याङ खस्दा घरभित्रै रहेकी १४ वर्षीया रमा बुढा घाइते भइन् । स्थानीय राजबहादुर बुढाको घरमा चट्याङ खसेपछि उनकी छोरी रमा घाइते भएकी हुन् ।

घटना ५ : २०८१ भदौ ८ गते महावु गाउँपालिका–२ बडाखोलामा चट्याङ लागेर तीन जना घाइते भए । यीमध्य गम्भीर २२ वर्षीय नगेन्द्र सुनारको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

उल्लेख गरिएका चट्याङका घटना दैलेखका हुन् । कर्णालीका अन्य जिल्लाका तुलनामा सबैभन्दा धेरै चट्याङ दैलेखमा पर्ने गरेको छ । चट्याङका कारण वर्षेनी मानवीयसँगै पशुधन र विद्युतिय सामग्रीमा क्षती पुग्ने गरेको छ । पहाडी जिल्लामा मानवीय क्षती र घाइतेको संख्या धेरैहुँदा कर्णालीका हिमाली जिल्ला जुम्लामा पशुधनमा धेरै क्षती पुगेको छ ।

पछिल्लो तीनवर्षदेखि हालसम्मको तथ्याङ केलाउदा कर्णालीका १० जिल्लामध्य दैलेखमा ४४ पटक चट्याङ खसेको छ । यो तथ्याङ्क आर्थिक वर्ष २०७८ देखि हालसम्मको हो । दैलेखमा यो अवधिमा चार जनाको मृत्यु भएको छ भने, ९४ जना घाइते भएका छन् ।

१२ ओटा भौतिक संरचनामा क्षती पुग्दा ४५ ओटा पशुचौपाय मरेका छन् । चट्याङकै कारण १३ लाखको धनजनको क्षती पुगेको हो । तीन वर्षमा मात्रै जुम्लामा चट्याङ लागेर ३२४ भेडाच्यांग्रा मरेका छन् । जुम्लामा १२ पटक खसिसकेको छ ।

कर्णालीमा चट्याङ पर्नेमा दोस्रो जिल्लामा रुकुम पश्चिम छ । यो जिल्लामा तीन वर्षको अवधिमा २४ पटक चट्याङ परेको छ । १८ भौतिक संरचनामा क्षतीहुँदा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । रुकुम पश्चिममा १३ जना विस्थापितहुँदा २४ पशुचौपायमा क्षती पुगेको छ । समग्रमा रुकुम पश्चिममा मात्रै १० लाख ३१ हजारको धनजानको क्षती पुगेको प्रदेश प्रहरी कार्यालयसँग विवरण छ ।

चट्याङ पर्नेमा तेस्रो जिल्लामा सुर्खेत छ । सुर्खेतको चिंगाढ गाउँपालिका क्षेत्रमा बढी चट्याङ पर्ने गरेको छ । १७ पटक परेको चट्याङमा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइतेहुँदा आठ ओटा भौतिक संरचनामा क्षती पुगेको हो । नौ वटा पशुचौपाय मर्दा सुर्खेतमा चट्याङबाट मात्रै आठ लाख ८३ हजारको क्षती पुगेको छ ।

सल्यानमा चट्याङबाट दुई जना, जाजरकोटमा तीन जना, जुम्ला र मुगुमा एक-एक जनाको मृत्यु भएको छ । समग्रमा कर्णालीका १० जिल्लामा १२७ स्थानमा चट्याङ खस्दा १६ जनाको मृत्यु भएको र १६८ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बीरबहादुर ओलीले जानकारी दिए । ४८ ओटा भौतिक संरचनामा क्षती पुग्दा ४४६ पशुधनको मृत्यु भएको छ । चट्याङकै कारण ती वर्षको अवधिमा ४५ लाख ९६ हजारको धनजनको क्षती पुगेको छ ।

दैलेखमा सर्वाधिक किन खस्छ चट्याङ ?
दैलेखको उत्तरी श्रृङ्खला हिमालयन जस्तो महावु, भर्ता जस्ता अग्ला हिमाल छन् । सुर्खेत र दैलेख आसपासमा जमिनमा दिउँसो घामको तापले ताताे बाफ बनिरहेको हुन्छ । त्यो बाफ विस्तारै आकाशतर्फ बढ्छ ।

दैलेखको महावु र भर्ता तथा रुकुम पश्चिमको सिस्ने हिमाललाई स्थानीय वायुले पार गर्न नसक्दा ति क्षेत्रमा चट्याङ बनेर खस्छ । चट्याङ प्राकृतिक प्रक्रिया हो । यो धेरैजसो प्रि–मनसुन (चैत, बैशाख र जेठ) मा अधिक चट्याङ खस्ने जोखिम हुन्छ ।

तर प्रि–मनसुनमा मात्रै नभएर चट्याङले वर्खाको समयमा पनि क्षती पु¥याउने गरेको छ । यो समयमा स्थानीय वायु (जमिन तातिदा बन्ने वाफ वा तातो हावा) जमिनै रहन सक्दैन र विस्तारै आकाश तिर जान्छ । तातेर आकाशमा गएको हावा बादलमा रुपान्तरण हुन्छ ।

१२-१३ किलोमिटर माथि आकाशमा पुगेपछि तातो हावा बादलमा रुपान्तरण भएपछि बादल–बादलमा आपसमा ठोक्किएर मेघगर्जनसहित असिना पर्ने, चट्याङ पार्ने र पानी पर्ने कर्णालीमै लामो समयदेखि मौसमको क्षेत्रमा काम गरेका जल तथा मौसम विभागका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट विनोद पराजुली बताउँछन् ।

‘प्रि–मनसुनमा अरबसागरबाट आउने प्रणाली निकै कम मात्रै हुन्छ,’ पराजुली भन्छन्, ‘त्यो समयमा पश्चिमी न्यूनचापीय प्रणाली र अरवसागरबाट न्यून मात्रामा वायु आयो भने पनि स्थानीय बायुलाई सहयोग गरेमा ठूलो वर्षासँगै चट्याङ पर्दा मानवीय र धनजनको क्षती पुग्छ ।’

चट्याङ कहिले पर्छ भनेर पहिल्यै भविष्यबाणि गर्न सकिदैन् । तर वर्षा भएको ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ । मौसमविदकाअनुसार चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुनिदैन तर अपवादका रुपमा ६० किलोमिटरसम्म आजाव सुनिएको रेकर्ड छ । एक पटक चट्याङ (विजुली चम्किदा) पर्दा १२ करोड ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ भने ३० हजार डिग्री सेन्टिग्रेटसम्म तापक्रम फाल्छ । यो तापक्रम सूर्यको भन्दा बढी हो ।

कसरी बच्ने ?
चट्याङबाट बच्ने उपाय सावधानी हो। शहरका घरहरूमा फलाम वा धातुको प्रयोग हुन्छ । यस्ता घरमा बस्दा सुरक्षित हुन्छ । चट्याङ पर्ने समयमा सवारी साधनभित्र बस्दा पनि जोगिन सकिन्छ । तर, सबैभन्दा धेरैे असर ग्रामीण भेगमा पर्ने गरेको छ । किनभने ग्रामीण भेगका घरहरू चट्याङ प्रतिरोधात्मक छैनन् । चट्याङले बढी घरबाहिर क्षति गर्छ । त्यसैले खेतबारीमा काम गर्दा ज्यान धेरै जाने गरेको छ ।

तपाईको प्रतिक्रिया