सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरबाट दैनिक सयौं सार्वजनिक यातायात पहाडी, हिमाली तराईका विभिन्न जिल्लाहरुका लागि छुट्ने गर्छन् । स्वच्छ प्रतिस्पर्धाभन्दा बसपार्क पुग्ने यात्रुहरु तानातान गर्दा यात्रुहरुको विचल्ली भइरहेको छ ।

आठ ओटा यातायात प्रा.लि. मिलाएर संयुक्त रुपमा गाडीहरु बसपार्कबाट छुटाउने गरेका छन् । संयुक्त विरुद्ध एक्लै हिल्सा पब्लिक र भिजिट कर्णालीले सवारी छुटाउदै आएका छन् । आइतबार यात्रु कसले चढाउने भन्ने विषयमा लफडाहुँदा संयुक्त यातायात व्यवसायीहरुले केही बेर सडकमा गाडी तेर्साएर हडताल नै गरेका छन् ।

‘यात्रु चढाउने विषयमा केही विवादहुँदा केही बेर बसपार्क अगाडी आन्दोलन गरेका हुन्,’ सुर्खेत देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले भने, ‘दिनहुँ बसपार्कमा यो किचलो भइरहेको छ । व्यवसायीको हितका लागि संयुक्त रुपमा गाडी छुटाउने गरिएको थियो । तर दुई व्यवसायीले एक्लै सवारी छुटाउँदा विवाद हुने गरेको हो ।’
हिल्सा पब्लिक यातायात प्रा.लि.का अध्यक्ष उपेन्द्र शाहीले स्वतन्त्र रुपमा व्यवसायी गर्नमा संयुक्तले वाधा गरेका बताउँछन् । ‘संयुक्तको नाममा जुन सिण्डीकेट लाद्ने काम भइरहेको छ, यो गलत हो । अहिलेको समयमा सबैले व्यवसाय गरिखान पाउनुपर्छ त्यसैले हामी स्वतन्त्र रुपमा चल्न पाउनुपर्छ भन्दै यात्रुहरुलाई सेवा दिइरहेका छौं ।’

आइतबार विहान हिल्सा पब्लिक, भिजिट कर्णाली र संयुक्त यातायात व्यवसायीका कर्मचारीले यात्रु चढाउने विषयमा विवाद भएको हो । यात्रु कुनले चढाउने भन्ने विषयमा विवाद चर्किएपछि संयुक्त यातायात व्यवसायीले गाडी तेर्साएर आन्दोलन गरेका छन् ।
बसपार्कमा सुरक्षाको लागि प्रहरीसमेत परिचालन गरिएको छ । प्रहरीले भनिरहँदा पनि यातायात व्यवसायीका कर्मचारीले यात्रु तान्ने प्रवृत्तिले दिनहुँ केही न केही समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्त वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । उनकाअनुसार आजको विवादको विषयमा बुझ्ने क्रममा आफू रहेकाले अहिले नै के भएको भन्न सकिदैन् ।
‘स्वच्छ प्रतिस्पर्धा गर्नुहोस्, यात्रुहरुलाई जुन गाडी मनपर्छ त्यहीँ चढ्नुहुन्छ भनेर हामीले समन्वय गरिरहेका छौं,’ प्रवक्ता विश्वकर्माले भने, ‘बसपार्कमा थप विवाद हुन सक्ने भएकाले सुरक्षार्थ दैनिक हाम्रो टोली त्यहीँ परिचालन गरिएको छ ।’
संयुक्त यातायातमा आठ ओटा समिति आवद्ध भएर सवारी छुटाउँदै आएको छ । संयुक्तमा सुर्खेत काँक्रेविहार, काँक्रेविहार, देउती नागरिक, मध्यपश्चिम, सुर्खेत देउती, बुलबुले, मध्यपश्चिम जीप र सिद्धपाइला यातायात आवद्ध छन् । स्वतन्त्र रुपमा भिजिट कर्णाली र हिल्सा पब्लिकले सवारीहरु छुटाउने गरेका छन् ।

नेपाल कर्म । ९ भाद्र २०८१, आईतवार १०:०९