कर्णाली सरकारको लाचारीले पश्चिम सुर्खेतबासीको पीडादायी यात्रा

हिलाम्य सडकमा ग्राभेल हाल्दै बराहताल गाउँपालिका

सुर्खेत । पश्चिम सुर्खेतका अधिकांश क्षेत्र अहिले पनि विकट छन् । प्रदेश राजधानीकै जिल्ला भएपनि यहाँका धेरै ठाउँमा सडकको भरपर्दो सुविधा पुगेको छैन । विकासको प्रमुख आधार सडक नै गतिलो नहुँदा पश्चिम क्षेत्रको समग्र विकासमै बाधा भएको छ । यस क्षेत्रका धेरै स्थानमा सडक बनेकै छैनन् ।



भएका ठाउँमा पनि सहज रूपमा यातायातका साधन गुड्ने अवस्था छैन । नागरिकले दशकौँदेखि सडक सास्ती खेप्दै आएका छन् । यहाँका मुख्य सडकसमेत बर्खामा मात्र नभइ हिउँदमा पनि हिलाम्मे हुन्छन् । सडकको आवश्यक मर्मत–सम्भार नहुँदा नागरिकहरू बाह्रै महिना कष्टकर यात्रा गर्न बाध्य भएका हुन् । पश्चिमको सडक समस्या भने अहिलेको होइन, विगतदेखिकै हो । तीन दशक अघि जे थियो आज पनि अवस्था कुनै सुधार आएको छैन ।


निर्वाचनका बेला हरेक पार्टी र नेताहरूले यही सडकलाई चुनावी एजेण्डा बनाउँछन् । सडक सुधार गर्ने आश्वासन दिएरै भोट माग्छन् । त्यसपछि अर्को चुनावसम्म सडक सुधार–विस्तारको सवाल ओझेलमा पर्छ ।

झन्डै तीन दशकदेखि पश्चिममा यस्तै सडक राजनीति चलिरहेको छ । चुनावताका निकै चर्चा हुने सडकको स्तरोन्नति भने कहिल्यै हुँदैन । विकासको यो एजेण्डा चुनाव जितेपछि आश्वासनमा मात्र सीमित हुने गरेको छ । सडक सुविधा भरपर्दो नभएपछि अहिले पनि पश्चिम क्षेत्रका कतिपय स्थानबाट वीरेन्द्रनगर आउन एकदिन पुरै लाग्छ ।

पश्चिम क्षेत्रमा बराहताल गाउँपालिकाको आधा वडा, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका नागरिकहरु यात्रा गर्ने मुख्य सडक बड्डीचौर–बावियाचौर–गुटु–विजौरा सडक हो । यो सडक मदन भण्डारी राजमार्ग नामाकरण गरिएको सडक हो ।

विद्यापुर–गुटु–विजौरा–बल्दे सडक निर्माण मदन भण्डारीले गरिरहेको छ । तर प्रवेश विन्दुको शुरुवाती सडक निर्माण जिम्मा लिएको प्रदेश सरकारको लाचारीले सदरमुकाम वीरेन्द्रनगर आउने र पश्चिम जाने नागरिकहरुको कुसमुकुस यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रदेश सरकारको मातहतमा रहेको पूर्वाधार विकास निर्देशनालय दुई वर्षमा सक्नेगरी २०७९ असारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार यो सडक २०८१ असारमा निर्माण सम्पन्न भइसक्नु सडक अहिले म्याद थप गरेपनि अलपत्र जस्तै छ ।

बड्डीचौर–खम्बगाडे सडकको १२ किलोमिटर सडकको अपेक्षाकृत काम नहुँदा वर्खामा नागरिक र सवारी धनीले पीडादायी यात्रा गर्नु परिरहेको छ । सडक स्तरोन्नतिका क्रममा डवल कटिङ्ग गरिएको गिमिने खोला क्षेत्रमा ग्राभेल नराख्दा यात्रुहरुले सास्ती झेलिरहेका छन् ।

रातो र चिट्टो माटोका कारण सवारी साधान दुर्घटनामा परिरहेका छन् । भने यात्रुहरुलाई हिडेर यात्रा गर्नै समस्या छ । प्रदेशले जिम्मेवारी लिएको सडक र पश्चिमका नागरिकहरु यहीँ सडक ओहोरदोहोर गर्दा पाइरहेको पीडामा मल्हम लगाउने प्रयास गरेको छैन् ।

बराहताल गाउँपालिकाले समस्या देखिएका ठाउँमा ग्राभेल हाल्ने काम बिहीबारदेखि शुरु गरेको छ । ‘जहाँ जहाँ समस्या भइरहेको छ त्यहाँ ग्राभेल राख्दिएर यात्रा सहज बनाउने प्रयास जारी राखेका छौं,’ अध्यक्ष भीमबहादुर भण्डारीले भने, ‘प्रदेश सरकारले पनि अपनत्व लिएर विग्रिएको ठाउँमा ग्राभेल गरिदिएको भए नागरिकहरुलाई यो वर्खामा यात्रा गर्न सहज हुनेथियो ।’

तपाईको प्रतिक्रिया